काठमाडौँ भदौ ३१ । जेनजी आन्दोलनको क्रममा ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ। प्रहरी प्रवक्ता डिआईजी विनोद घिमिरेले रातोपाटीलाई जानकारी दिँदै भदौ २३ र २४ गते भएका प्रदर्शन, लुटपाट र आगजनीको घटनामा प्रदर्शनकारी, प्रहरी, कैदीबन्दी र सर्वसाधारण गरी ७३ जनाको मृत्यु पुष्टि गरेका हुन्।
प्रदर्शनका क्रममा प्रहरीतर्फ ३ जनाको ज्यान गएको छ। असई मिलन राय, सहायक हवल्दार अमृत गुरुङ र जवान उत्तम थापा आन्दोलन नियन्त्रणको क्रममा ज्यान गुमाउने सुरक्षाकर्मी हुन्। नयाँ बानेश्वर क्षेत्रमा मात्रै २१ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमध्ये केहीले घटनास्थलमै र केहीले अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका हुन्। मृतक प्रदर्शनकारीहरूमध्ये बुद्धिबहादुर तामाङ, सन्तोष बिक, सुलभराज श्रेष्ठ, श्रीयम चौलागाईं, ईस्वत अधिकारी, आयुष थापा मगर, सौरभ जोशी, योग बहादुर श्रेष्ठ, माधव सारुमगर, बिमल बाबु भट्ट, असहाव आलम ठकुराई, शौरन किशोर श्रेष्ठ, सुवास कुमार बोहरा, रसिक खतिवडा, विनोद महर्जन, दिल नारायण तामाङ, योगेन्द्र न्यौपाने, छत्रमान कुथुमी, ओझन बुढा, अविषेक श्रेष्ठ र मोहन सरदार ‘चंखे’ रहेका छन्।
भदौ २४ गते लुटपाट र आगजनीको क्रममा ३८ जनाको मृत्यु भएको पनि पुष्टि भएको छ। भाटभटेनी सुपरमार्केट र विभिन्न निजी घरहरूमा जलेको अवस्थामा १५ जना मृत भेटिएको जनाइएको छ। त्यसैगरी, कारागार तथा सुधारगृहहरूमा भएको अराजकताको बीच १० जना कैदीबन्दी र बालबन्दीको पनि मृत्यु भएको छ। सरकारी संयन्त्र अहिले मृत्यु हुनेहरूको विस्तृत विवरण संकलन, घटनाको प्रकृति अनुसार अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउने तयारीमा जुटेको छ।





