काठमाडौँ भदौ ३१ । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई आफ्नो नेतृत्वमा बन्न लागेको सरकारमा सहभागी हुन आग्रह गरेकी छिन्। आज तिलगंगा आँखा प्रतिष्ठानमै पुगेर प्रधानमन्त्री कार्कीले डा. रुइतसँग भेट गर्दै राष्ट्रिय आवश्यकता र विशेष परिस्थिति औंल्याउँदै सरकारमा साथ दिन आग्रह गरेकी थिइन्।
तर डा. रुइतले प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गर्दै आफू अस्पताल र बिरामीहरूको सेवाबाट अलग हुन नसक्ने स्पष्ट जवाफ दिएका छन्। सरकारलाई संस्थागत रूपमा सघाउन तयार रहेको बताए पनि सरकारमा सहभागी हुन नमिल्ने अडान उनले दोहोर्याएका छन्।
छलफलपछि सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा डा। रुइतले छोटो तर दृढ उत्तर दिए ; यहाँ छोडेर आउने ? यत्रो काम छ, बिरामी छन् – छाडेर आउँदिन।
राष्ट्रिय संकटको बेला पनि सेवा नै आफ्नो प्राथमिकता भएको डा. रुइतको निर्णयलाई सामाजिक सञ्जालमा व्यापक समर्थन मिलिरहेको छ।





