“सेनाको सुरक्षा छाड्न अझै तयार छैनन् ओली–देउवा, बाँकी नेताहरू फर्किए सर्वसाधारणजस्तै”

काठमाडौँ भदौ ३१ । भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि आतंकित बनेको काठमाडौं उपत्यका बिस्तारै सामान्य अवस्थामा फर्किएको छ। आन्दोलनमा सरकारी दमनका कारण १९ जनाको ज्यान गएपछि आन्दोलनकारीले राज्यका मुख्य अंग—कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रशासकीय संरचना कब्जा गरी ध्वस्त बनाएका थिए। राजनीतिक दलका कार्यालय, नेताका निवास तथा व्यापारीक भवनहरूमा समेत आगजनी र तोडफोड भएको थियो।

उच्च सुरक्षा चुनौतीका कारण नेपाली सेनाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल लगायत शीर्ष नेताहरूलाई सुरक्षित स्थलमा राखेको थियो। भदौ २४ गते बिहान सेनाले ओलीलाई बालुवाटारबाट उद्धार गरी शिवपुरीस्थित ब्यारेकमा पुर्‍याएको थियो। देउवा दम्पती बुढानीलकण्ठस्थित निवासमै रहेका बेला प्रदर्शनकारीको आक्रमणमा परे। आगजनीपछि निर्घात कुटपिटमा परेका उनीहरूलाई सेनाले उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको थियो।

पूर्वप्रधानमन्त्री प्रचण्ड सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा विपक्षी नेतासँग छलफलमा रहेका बेला सेनाले सुरक्षित निकास दिएको थियो। खनाल निवासमै रहेका बेला भएको आगजनीमा उनकी श्रीमती गम्भीर घाइते भएकी छन्। डा। बाबुराम भट्टराईको निवास जले पनि उनी आफन्तको घरमा बसेर सेनाको सुरक्षा लिन अस्वीकार गरेका थिए। उच्च स्रोतका अनुसार आइतबार र सोमबार क्रमशः प्रचण्ड, नेपाल, खनाललगायत अन्य पूर्वप्रधानमन्त्री र मन्त्रीहरू सार्वजनिक जीवनमा फर्किएका छन्। तर ओली र देउवा भने अझै सेनाको सुरक्षामा नै रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर