काठमाडौँ भदौ ३० । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ। यस अवसरमा ऊर्जा, जलस्रोत तथा सिंचाई एवं भौतिक तथा शहरी विकास मन्त्री कुलमान घिसिङ, गृह तथा कानून मन्त्री ओम प्रकाश अर्याल र अर्थमन्त्री रामेश्वर खनालले शपथ लिएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ उनीहरूलाई मन्त्रीको रूपमा नियुक्त गरेकी थिइन्। सो शपथ ग्रहण समारोहमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल सरकारका मुख्य सचिव नारायण अर्यालसहित सुरक्षा निकायका प्रमुखहरू र अन्य उच्च व्यक्तित्वहरू उपस्थित थिए।
नवनियुक्त ऊर्जा मन्त्री कुलमान घिसिङले अघि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा काम गरिसकेका छन्। गृहमन्त्री ओम प्रकाश अर्याल, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन का कानूनी सल्लाहकारका रूपमा परिचित छन् भने अर्थमन्त्री रामेश्वर खनाल पूर्वअर्थसचिव पनि रहनुभएको छ।





