जेन्जी आन्दोलनको क्रममा तोडफोडका बीच चोरेको सामान फिर्ता गरिदिन संसद सचिवालयको अपिल

काठमाडौँ भदौ ३० । संघीय संसद् सचिवालयले जेन–जी आन्दोलनको क्रममा संसद भवनबाट लुटपाट भएका सामग्री फिर्ता गर्न आमनागरिक र सरोकारवालाहरूलाई आग्रह गरेको छ। सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले सूचना जारी गर्दै लुटिएको सामाग्री स्वेच्छाले फिर्ता गरिदिन र आवश्यक सूचनाहरू उपलब्ध गराउन अपिल गरेको हो।

सूचनामा भनिएको छ, “भदौ २३ देखि २५ गतेसम्मको प्रदर्शनका क्रममा सञ्चार, सवारीसाधन र अन्य भौतिक उपकरणहरू — जस्तै प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन तथा अन्य विद्युतीय उपकरणहरू अनधिकृत व्यक्तिले लगेको भन्ने बुझिएको छ।” सचिवालयले ती लुटिएका सामाग्रीहरू स्वेच्छाले फिर्ता गर्न वा सम्बन्धित जानकारी भएमा भिडियो तथा प्रमाण सहित सहयोग गर्न पनि अनुरोध गरेको छ। यस क्रममा जानकारी दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य राखिने सचिवालयले स्पष्ट पारेको छ।

भदौ २४ गते नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा भएको प्रदर्शन हिंसात्मक बनेपछि सवारीसाधनमा तोडफोड, आगजनी र भवनभित्र प्रवेश गरी सामग्री लुटपाट भएको थियो। घटनाका भिडिओहरू सामाजिक सञ्जालमा समेत भाइरल बनेका थिए। सचिवालयले सामग्री फिर्ता नभएमा कानुनी प्रक्रिया अघि बढाउने चेतावनी नदिए पनि, गोप्य सूचनामार्फत पहिचान गरी कारबाही प्रक्रिया अघि बढाउने संकेत गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ