सिरहा भदौ ३० । जेन–जी आन्दोलनको आडमा लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटिएको चामल र चिनी प्रशासनको दबाबपछि फिर्ता हुन थालेको छ। इलाका प्रशासन कार्यालय लहानले कडा निर्देशन जारी गरेपछि स्थानीय युवाहरूको सक्रियतामा आइतबारदेखि लुटिएको सामग्री फिर्ता गर्न थालिएको हो।
गत मङ्गलबार दिउँसो आन्दोलन उत्कर्षमा पुग्दा प्रदर्शनकारीले कम्पनीका चार वटा गोदाममा रहेका हजारौं क्विन्टल खाद्यान्न लुटपाट गरेका थिए। ७१ क्विन्टल चामल र करिब १८ क्विन्टल चिनी आइतबार बेलुकासम्म फिर्ता भइसकेको खाद्य कम्पनी लहान शाखाका सूचना अधिकारी अनिलकुमार महतोले जानकारी दिए। “फिर्ता गर्नेहरूको नाम गोप्य राखिएको छ,” महतोले भने, “तर केही व्यक्तिहरू स्वयं आएका छन् भने केहीले स्थानीय युवाहरूको सहयोगमा सामग्री बुझाएका छन्।” लहान प्रशासनका प्रशासकीय अधिकृत सन्तोष रायका अनुसार, लुटपाटको घटनाले लहानको छवि राष्ट्रियस्तरमै धूमिल बनाएको भन्दै कार्यालयले सिसिटिभी फुटेज र सामाजिक सञ्जालको भिडियो र फोटोका आधारमा पहिचान गरी कडा कारबाही गर्ने चेतावनी दिएको थियो। यही चेतावनीपछि फिर्ता सुरु भएको हो।
१० करोडभन्दा बढीको क्षति
सूचना अधिकारी महतोका अनुसार, लुटपाटमा ८ हजार १४८ क्विन्टल चामल, ३ हजार २२० क्विन्टल चिनी, ५३ क्विन्टल २१ किलो धान, ८१ हजार ८१५ थान जुटका बोरा र विशेष ‘फ्युमिगेसन सिट’ लुटिएको छ। अनुमानित रूपमा यसबाट रु १० करोड ९१ लाखभन्दा बढीको क्षति पुगेको छ। ‘फ्युमिगेसन सिट’हरू निकै भारी हुने र ती उठाउन कम्तीमा १० जनाको समूह चाहिने जनाइएको छ। ती सिटहरू कम्पनीसँग मात्र हुने हुँदा चिन्ह लगाउन सहज हुने बताइएको छ।
आगजनी र अन्य क्षति
लुटपाटका क्रममा कार्यालय परिसरमा रहेका कार र मोटरसाइकलमा आगजनी गरिएको थियो। खाद्यकर्मीको क्वार्टरबाट ल्यापटप, दुई थान ग्यास सिलिण्डर र मोबाइल फोन समेत लुटिएको जनाइएको छ।
पुनरावृत्तिको जोखिम
यसअघि पनि २०६३ को मधेस आन्दोलनसहित अन्य समयहरूमा गरी कम्तीमा तीन पटक लहानस्थित खाद्य कम्पनीमा लुटपाट भइसकेको इतिहास छ। त्यसैले सामान्य आन्दोलनहरूकै क्रममा पनि भविष्यमा लुटपाट दोहोरिने जोखिम रहेको स्थानीयहरू बताउँछन्।





