काठमाडौँ भदौ ३० । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका केही मृतकहरूको पहिचान अझै नखुलेको अवस्थामा, ८ शव यस्ता छन् जुन पूर्ण रूपमा जलेर क्षतविक्षत भएकाले डिएनए परीक्षणबिना सनाखत गर्न असम्भव रहेको शिक्षण अस्पताल, महाराजगन्जले जनाएको छ।
अस्पतालको फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार ती आठ शव पहिचान गर्न डिएनए परीक्षण अनिवार्य छ। “शरीर पूर्ण रूपमा जलेकाले को हुन् भनेर थाहा पाउन सकिएको छैन। पहिचानका लागि अब डिएनए परीक्षण नै एक मात्र विकल्प हो,” उनले स्पष्ट पारे। जेन–जी आन्दोलनको क्रममा देशभर ७२ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ। तीमध्ये ४६ जनाको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल, महाराजगन्ज ल्याइएको थियो। अस्पतालका अनुसार अहिलेसम्म २६ शवको पोष्टमार्टम सम्पन्न भइसकेको छ।
सोमबारसम्म २३ जनाको शव परिवारले बुझिसकेको अवस्थामा अझै २० शव बाँकी छन्। तीमध्ये ८ जनाको शरीर पूर्ण रूपमा जलेको छ भने बाँकी १२ शवमध्ये ११ जनाको सनाखत भए पनि परिवार सम्पर्कमा नआएको फरेन्सिक विभागले जनाएको छ। १ जनाको सनाखत समेत हुन बाँकी छ। डा. चौधरीका अनुसार अधिकांश मृतकको मृत्युको कारण थाहा पाउन पोष्टमार्टम गरिँदै आएको हो। तर पूर्ण रूपमा जलेका शवमा मृत्युको कारण मात्र होइन, पहिचानका लागि पनि डिएनए अनिवार्य हुन्छ। यसबीच, आइतबार प्रधानमन्त्री सुशिला कार्कीले आन्दोलनमा मृत्यु हुनेहरूलाई सहिद घोषणा गर्दै प्रति परिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरिसकेकी छन्। तर पहिचान नभएका र परिवार सम्पर्कमा नआएका शवहरूको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।






