जेनजी आन्दोलनपछि जनकपुरधाम शान्त, जनजीवन चलायमान

जनकपुरधाम भदौ २९ । जेनजी पुस्ताको आन्दोलनपछिको अशान्ति क्रमशः थामिँदै जाँदा जनकपुरधाममा जनजीवन सामान्य बन्दै गएको छ। बन्द भएका सार्वजनिक सेवा तथा यातायात आजदेखि पुनः सञ्चालनमा आएका छन्।

नेपाल रेल्वे कम्पनीका सहायक केवलबहादुर नेपालीका अनुसार, भारतमा सर्भिसिङ गरेर ल्याइएको रेल आज बिहान ११ बजे जयनगरबाट जनकपुरधाम आइपुगेको छ र नियमित सेवा सुरु भएको छ। उनका अनुसार अबदेखि तीनवटा निश्चित समयतालिका अनुसार रेल सेवा सञ्चालन हुनेछ। यसैगरी, आन्दोलनका कारण केही दिनदेखि बन्द भएको बस सेवा पनि आजदेखि पुनः सञ्चालनमा आएको छ। बस व्यवसायी संघ जनकपुरधामका अध्यक्ष मनोज चौधरीले आन्दोलनको समयमा सुरक्षा चुनौतीका कारण बस सञ्चालन रोकिएको बताउँदै भने, अब अवस्था सामान्य बनेपछि सेवा सुचारु गरेका हौँ। यात्रुहरूलाई सहज भएको छ।

अस्थिरताको असर शैक्षिक क्षेत्रमै पनि परेको थियो। बन्द भएका विद्यालयहरू सोमबारदेखि सञ्चालनमा आउने भएका छन्। एन प्याब्सन जनकपुरधामका नगर अध्यक्ष दीपक ठाकुरका अनुसार, लामो समय शिक्षण गतिविधि बन्द हुँदा विद्यार्थीहरूको अध्ययन प्रभावित भएको भन्दै पठनपाठन सुरु गर्न लागिएको हो। ठाकुरले यसबारे प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई औपचारिक जानकारी दिइसकेको बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ