सिरहा भदौ २९ । जेनजी’ आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका दुई कैदीलाई सिराहा प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानको नेतृत्वमा खटिएको टोलीले लहान नगरपालिका–४ रघुनाथपुरका ५१ वर्षीय रामसेवक यादव र जलेश्वर कारागारबाट फरार भारतको मधुवनीका ३८ वर्षीय गोपाल साहलाई पक्राउ गरेको जनाएको छ। यादव नक्खु कारागार, काठमाडौँबाट भागेका थिए भने साह जलेश्वर कारागारबाट फरार थिए।
यसअघि पनि शुक्रबार सिराहा प्रहरीले भारतीय प्रहरीसँगको सहकार्यमा फरार भएका तीन कैदीलाई पक्राउ गरेको थियो। पक्राउ परेका सबैलाई सम्बन्धित कारागारमा बुझाउने तयारी भइरहेको छ। प्रहरीले फरार कैदी नियन्त्रणका लागि सक्रियता जारी राखेको बताएको छ।






