रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टी छाडे

काठमाडौँ भदौ २९ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी छाडेर नयाँ राजनीतिक दल ‘नेपाल नागरिक उन्मुक्ति पार्टी’ गठन गर्ने घोषणा गरेका छन्। उनले नयाँ दलको चुनाव चिह्न ‘पहिचान’ प्रस्ताव गरेको समेत जानकारी दिएका छन्।

चौधरीले भिडियो सन्देशमार्फत वर्तमान राजनीतिक अवस्था प्रतिशोधपूर्ण र ईर्ष्यापूर्ण रहेको बताए। टिकापुर घटनामा आफू निर्दोष भए पनि राजनीतिक बदला स्वरूप घर जलाइएको गुनासो व्यक्त गरे। उनले टिकापुर घटनामा क्षतिपूर्ति वितरणमा व्यापक अनियमितता भएको आरोप लगाउँदै भने, “५० हजार रुपैयाँ क्षतिपूर्ति दाबी गर्नेले डेढ करोडसम्म पाएको देखिन्छ।”

चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न, राज्य पुनःसंरचना र सीमाङ्कनमा सुधार गर्न, र आफ्ना मुद्दाहरूमा न्यायिक निर्णय आवश्यक रहेको जोड दिए। साथै, उनले देशभर निजी र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनेहरूको छानबिन र कडाइका साथ कारबाही गर्नुपर्ने माग पनि उठाए। नयाँ दल गठन गर्दै उनले आगामी दिनमा राजनीतिक क्षेत्र र आन्दोलनमा नयाँ र स्पष्ट भूमिका खेल्ने आश्वासन दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ