जनकपुरधाम भदौ २९ । मधेस प्रदेश सरकारमा नेतृत्व गरिरहेको जनमत पार्टीले आज औपचारिकरूपमा सरकारबाट समर्थन फिर्ता लिएको घोषणा गरेको छ। पार्टीले मुख्यमन्त्री सतिश कुमार सिंहसहित मन्त्रीहरूलाई पनि फिर्ता बोलाएको छ। जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेश प्रमुखलाई पठाएको पत्रमार्फत पार्टीको निर्णय जानकारी गराएका हुन्। पत्रमा उल्लेख गरिएअनुसार, पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको आन्तरिक निर्णयका आधारमा मुख्यमन्त्रीसहित सरकारमा रहेका जनमत पार्टीका प्रतिनिधिलाई फिर्ता बोलाइएको छ।
मुख्यमन्त्रीको व्यवहार विवादमा
भदौ २४ गते जेनजी आन्दोलन चर्किएको बेला राजीनामा घोषणा गरेका मुख्यमन्त्री सतिश कुमार सिंहले अहिलेसम्म औपचारिक राजीनामा नदिएको भन्दै पुनः मुख्यमन्त्रीको रूपमा काम गर्न थालेपछि चौतर्फी आलोचना चुलिएको छ।
उनको यो कदमलाई राजनीतिक हल्कामा नैतिक अपमानू र जनमतको अवज्ञाू भनेर टिप्पणी गरिएको छ। मुख्यमन्त्री सिंहको राजीनामा घोषणा सार्वजनिक रूपमा भएको थियो, तर कुनै औपचारिक पत्र प्रदेश प्रमुखलाई पेश नगरेकाले उनले कानुनी रूपमा पद नछाडिएको देखाएर पुनः कार्यभार सम्हाल्ने प्रयास गरेका छन्।
राजनीतिक संकटको संकेत
जनमत पार्टीको समर्थन फिर्तासँगै मधेस प्रदेश सरकार अल्पमतमा पर्ने सम्भावना बलियो भएको छ। मुख्यमन्त्रीको पुनः सक्रियता र दलको स्पष्ट असहमतिको बीचमा प्रदेशको राजनीतिक परिस्थिति अझै अस्थिरतातर्फ उन्मुख देखिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार, मुख्यमन्त्रीले औपचारिक राजीनामा नदिएर सत्ता सम्हाल्ने प्रयास गर्नु नैतिक रूपमा प्रश्न उठाउने विषय हो, त्यसमा दलकै समर्थन फिर्ता भएपछि उनको हैसियत स्वतः समाप्त हुन्छ।






