प्रधानमन्त्री कार्कीको स्पष्टीकरण: “रहरले होइन, बाध्यताले प्रधानमन्त्री भएँ

काठमाडौँ भदौ २९ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफू प्रधानमन्त्री बन्ने इच्छा नभई परिस्थितिले आफुलाई यो जिम्मेवारी लिन बाध्य बनाएको स्पष्ट पारेकी छन्। आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै कर्मचारी, सुरक्षाकर्मी र सरकारी अधिकारीहरूलाई सम्बोधन गर्दै उनले यो भनाइ सार्वजनिक गरिन्। “रहरले म आएको होइन, सडक र जताततैबाट जिम्मा लेऊ भनेर सुझाव आयो, म विवश हुनुपर्‍यो, सत्ताको रसास्वादन गर्न आएकी होइन,” प्रधानमन्त्री कार्कीले भावुक आवाजमा भनिन्। उनले भ्रष्टाचार नियन्त्रण, जनसेवा सुधार, र नयाँ पुस्ताको भावनाअनुसार शासन प्रणाली अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।

२७ घण्टाको आन्दोलनले देश ध्वस्त

जेनजी आन्दोलनका क्रममा भएको २७ घण्टे व्यापक अशान्ति र आगजनीले देशभर भौतिक संरचना मात्र नभई न्याय प्रणालीका प्रमाण, प्रशासनिक अभिलेख, रेकर्डहरू नष्ट भएको कार्कीले जानकारी दिइन्। “भौतिक भवन त बनाउला, तर रेकर्ड नष्ट हुँदा हामी शून्यमा पुगेका छौँ,” भन्दै उनले सुरक्षा निकाय, अदालत, प्रहरी बिट, र सिंहदरबारसमेत आगलागीमा परेकाले भविष्यमा चुनौती थपिएको उल्लेख गरिन्। उनले हिंसा उद्देश्यपूर्ण र लक्षित रूपमा गरिएको बताउँदै, सुरक्षा वाहन नै अभावमा परेको अवस्था आएको खुलासा गरिन्। “यो दृश्य देख्दा लाज लाग्छ। नेपाली नै भएर यो काम गर्न सकिन्न,” भन्दै उनले जनताको संवेदनशीलता र भावनाको कदर गर्न आग्रह गरिन्।

षड्यन्त्रको आशंका र कडा अनुसन्धानको प्रतिबद्धता

प्रधानमन्त्री कार्कीले पछिल्लो घटनाक्रम हेर्दा षड्यन्त्र भएको आशंका बलियो भएको बताइन्। “प्रहार र नोक्सानी गर्नेहरूलाई छाडिँदैन, सबैको छानबिन हुन्छ,” भन्दै उनले अपराधीलाई उन्मुक्ति नदिने स्पष्ट संकेत दिइन्।

६ महिनापछि निर्वाचित प्रतिनिधिलाई सत्ता सुम्पिने अठोट

प्रधानमन्त्री कार्कीले आफू ६ महिनाको अन्तरिम जिम्मेवारीका लागि आएको बताउँदै, त्यसपछिको सत्ता नयाँ निर्वाचित संसद र मन्त्रीहरूलाई हस्तान्तरण गर्ने अठोट व्यक्त गरिन्। “तपाईंहरू सबैको साथबिना यो सम्भव छैन, सहयोग गर्नुस्, क्षतिको पुनर्निर्माण आफ्नै स्रोतबाट किन नगर्नेरु” भन्दै उनले तराईमा बाँसका भाटाले अस्थायी संरचना बनाउन सकिने उदाहरण प्रस्तुत गरिन्।

एकता र राष्ट्रिय पुनर्निर्माणमा जोड

भाषणको अन्त्यमा कार्कीले सबैलाई आह्वान गर्दै भनिन्, “अपराधीले देशलाई चुनौती दिएका छन्, तर हामी नेपालीमा क्षमता छ। एकताको भावना राखेर मिलेर निर्माण गरौँ।”

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ