हेटौडाँ भदौ २८ । गत २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा हेटौंडामा भएको लुटपाट घटनामा संलग्नहरूमाथि प्रहरीले कडा कारबाही थालेको छ। शनिबार बिहान हेटौंडा उपमहानगरपालिका–४ कर्राबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट चोरी गरिएका दुई ट्रक सामान बरामद गरिएको छ।
आन्दोलनको अवाञ्छित प्रभावका कारण केही समूहले सरकारी कार्यालय, सार्वजनिक भवन र व्यक्तिगत घर तथा व्यवसायमा लुटपाट र आगजनी गरेका थिए। हेटौंडा–१० स्थित स्वास्थ्य मन्त्रालयबाट दराज, टेबल, कुर्सी, कम्प्युटर लगायतका सामग्रीहरू चोरी गरिएको थियो। स्थानीय जनताको सूचना र सहयोगमा वडा प्रहरी कार्यालय सानो पोखराले कर्राबाट ती सामान बरामद गरेको मकवानपुर प्रहरीले जनाएको छ। लुटपाटमा संलग्न केही व्यक्तिहरू पनि नियन्त्रणमा लिइएको छ र उनीहरूबिरुद्ध अनुसन्धान भइरहेको छ। स्थानीयले प्रहरीलाई जानकारी गराएअनुसार घटना भएको राति दुई वटा ट्रकमा सामान लोड गरी कर्रातर्फ लगिएको थियो। सोही आधारमा प्रहरीले खोजतलास गर्दा सामान फेला पारेको छ।
मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी श्यामु अर्यालले भने, “लुटपाटमा संलग्न कुनै पनि व्यक्ति छोडिने छैन। घटनामा संलग्न जो कोहीलाई पनि कडाभन्दा कडा कारबाही गरिनेछ।” उनले बरामद सामग्रीलाई सुरक्षित राखिएको र बाँकी सामानको खोजी प्रक्रिया जारी रहेको जानकारी दिए। कर्राका स्थानीय नीरजसिंह ठकुरीले समुदायकै सक्रिय सहभागितामा लुटपाटमा संलग्नको निगरानी गरी बरामद सामग्री प्रहरीलाई बुझाउन सहयोग गरेको बताए। २४ भदौको आन्दोलनपछि राजधानीदेखि विभिन्न प्रदेशसम्म सरकारी र गैरसरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाटका घटनाहरू भएका थिए। यस्ता घटनामा प्रहरी प्रशासनले नियन्त्रण र खोजतलासमा प्राथमिकता दिएका छन् र जनसमुदायलाई समेत सहयोग गर्न अपील गरेका छन्।





