जनकपुरधाम भदौ २८ । जेनजी आन्दोलनका कारण तनावग्रस्त बनेको मधेस प्रदेशको राजधानी जनकपुरधामसहित धनुषा जिल्लाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। आन्दोलनको चपेटाबाट प्रभावित बजार, सरकारी कार्यालय, सुरक्षा व्यवस्था र दैनिक गतिविधि विस्तारै लयमा फर्किन थालेका छन्।
आजदेखि जनकपुरधामका अधिकांश पसलहरू खुल्न थालेका छन् भने सडकमा सवारीसाधनहरूको चाप पनि बढेको छ। जानकी मन्दिरमा पूजापाठ गर्न आउने भक्तजनहरूको सङ्ख्या समेत बढेको मन्दिरका पुजारीहरूले जनाएका छन्। सरकारी गाडीका साथै निजी तथा भाडाका सवारीसाधनहरू पुनः सञ्चालनमा आएका छन्। सुरक्षा व्यवस्थाको पनि क्रमिक सुधार भइरहेको छ। आन्दोलनका कारण खाली भएका प्रहरी चौकीहरूमा सुरक्षाकर्मीहरू पुनः फर्किन थालेका छन्। जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबारदेखि सबै सार्वजनिक सेवा अनिवार्य रूपमा सञ्चालनमा ल्याउने सूचना जारी गरेको छ। साथै, कार्यालयहरूको क्षति विवरण सङ्कलन गर्न र अभिलेख कायम गर्न समेत निर्देशन दिइएको छ।
हाल जिल्ला प्रशासन कार्यालयले आफ्नो सबै सेवा सञ्चालनमा ल्याएको भए पनि राहदानी तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा भने हालका लागि स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले सूचनामार्फत् जानकारी दिनुभएको छ। आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय, मधेस प्रदेश सरकारअन्तर्गतका विभिन्न मन्त्रालय भवन, सरकारी तथा सार्वजनिक निकायका कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो। ती भवनहरूको अहिले सरसफाइ र मर्मत कार्य भइरहेको छ। जनकपुर र आसपासका क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको छ। सार्वजनिकस्थलहरूमा कुनै अप्रिय घटना नहोस भनेर सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जेनजी आन्दोलनको क्रममा करिब दुई दर्जनभन्दा बढी सरकारी तथा सार्वजनिक भवन र विभिन्न राजनीतिक दलका कार्यालयहरूमा तोडफोड तथा आगजनी भएको थियो। अहिले स्थिति नियन्त्रणमा आएको प्रशासनको दाबी छ।





