पर्सा भदौ २७ । भारतबाट नेपाल प्रवेश गरेका करिब एक हजार मालवाहक सवारीसाधन वीरगन्ज भन्सार कार्यालयमा थन्किएका छन्। जेनजी आन्दोलनपछि भन्सार कार्यालयमा कर्मचारी प्रशासनको उपस्थिति नहुँदा गाडीहरू भन्सार प्रक्रिया पूरा नगरी रोकिएका हुन्।
वीरगन्जस्थित एकीकृत जाँच चौकी आईसीपी र ड्राइपोर्टको पार्किङस्थल मालबाहक गाडीहरूले भरिएको छ। चालकहरूका अनुसार पाँच दिनदेखि त्यहाँका सवारीसाधन जाँच पास नहुँदा वा सुरक्षा ग्यारेन्टी नपाउँदा गन्तव्यतर्फ जान नसकेर अलपत्र परेका छन्। मध्य प्रदेशबाट धनियाँ लिएर आएका चालक फिरोज खान भन्छन्, “आन्दोलनको अघिल्लो दिन आइपुगेको थिएँ। ६ दिन भयो, गाडी यहीँ थन्किएको छ। अब चाँडै पठाइएन भने सामान बिग्रन्छ।” खानाका अनुसार, पार्किङस्थलमा अहिले एक हजारभन्दा बढी गाडी रोकिएका छन्। त्यस्तै, उत्तर प्रदेशबाट कुखुराको दाना लिएर आएका चालक अनुज कुमार भन्छन्, “गाडीको भन्सार प्रक्रिया पूरा भइसकेको छ, तर सुरक्षा व्यवस्था नभएर सामान गन्तव्यमा पुर्याउन सकिएको छैन।”
राजस्थानबाट काठका सामग्री लिएर आएका चालक रवि बैना पनि पाँच दिनदेखि पार्किङमै छन्। “काठमाडौँ जानु थियो, तर गाडी अगाडि लैजान सकिएको छैन,” उनले भने। यसबीच वीरगन्ज भन्सार कार्यालयका प्रमुख विष्णु प्रसाद ज्ञवालीले भने स्थिति सुधार गर्दै लगिएको प्रतिक्रिया दिएका छन्। उनले भने, “हामीले गाडीहरू पठाइरहेका छौँ। हिजो पनि औषधि, ग्यास र खाद्यान्न बोकेका गाडीहरू छुटाएका थियौँ। आज साँझ पनि पठाउने तयारी भइरहेको छ।” तर भन्सारमा अझै नियमित कर्मचारी उपस्थिति नहुँदा दैनिक उपभोग्य वस्तुहरू ढुवानीमा अवरोध देखिएको छ। चालकहरू खाना–बस्नसमेत समस्या भोगिरहेको गुनासो गर्छन्।





