रौतहट भदौ २७ । संविधान र लोकतन्त्रको संरक्षणको माग गर्दै नेपाली कांग्रेसले शुक्रबार रौतहट जिल्लाका विभिन्न स्थानमा शान्तिपूर्ण प्रदर्शन गरेको छ। देशव्यापी रुपमा बढ्दो संवैधानिक अनिश्चितता र राजनीतिक हस्तक्षेपविरुद्ध पार्टीले सङ्गठित रूपमा आवाज उठाएको हो।
रौतहटको गरुडा बजारमा कांग्रेसका नेता र कार्यकर्ताहरूले प्लेकार्डसहित मूल सडकमा जुलुस निकाल्दै प्रदर्शन गरे। ‘संविधानको रक्षा गर’, ‘राष्ट्रपतिलाई सार्वजनिक गर’ लगायत नाराहरूले प्रदर्शनस्थल गुञ्जायमान थियो। उक्त प्रदर्शनमा कांग्रेसका मेयर प्रत्यासी सुनिलकुमार यादव, उपमेयर प्रत्यासी पुनम कुमारी चौधरी, वृन्दावन नगरपालिकाका पूर्व मेयर रामसिनेही यादव, वडा अध्यक्ष प्रत्यासी रमेश प्रसाद यादवसहित कांग्रेसका जिल्ला र नगरस्तरीय नेताहरूको उपस्थिति थियो। उनीहरूले संवैधानिक शासनको निरन्तरताले मात्र राष्ट्रको स्थायित्व र जनअधिकारको रक्षा सम्भव हुने बताएका थिए।
यसैगरी, फतुवा विजयपुर नगरपालिकाको विजयपुर बजारमा युवा नेता ज्ञानेन्द्र प्रसाद यादवको अगुवाइमा अर्को प्रभावशाली प्रदर्शन सम्पन्न भयो। यादवले संविधानमाथि भइरहेको खतरा गम्भीर भएको बताउँदै भने, “संविधानमाथिको आँच केवल कागज च्यातिएको होइन, यो हाम्रो बलिदान र पहिचानमाथिको प्रहार हो।” प्रदर्शनमा सहभागीहरूले ‘संविधानको रक्षा गरौं’, ‘लोकतन्त्र बचाऔं’, ‘विदेशी हस्तक्षेप बन्द गर’ जस्ता नारा लगाउँदै बजार परिक्रमा गरेका थिए। कांग्रेसका निवर्तमान नगर प्रमुख गोपाल राय यादवले संविधानभित्रै रहेर समस्या समाधान खोज्न सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए।
कांग्रेसको यो प्रदर्शन शान्तिपूर्ण भए पनि राजनीतिक सन्देश गहिरो थियो — जसले संवैधानिक मूल्य र जनताको अधिकारका पक्षमा स्पष्ट हस्तक्षेपको विरोध जनायो।





