काठमाडौँ भदौ २६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनले उठाएका मागहरू वर्तमान संविधान र संसदीय प्रक्रियामार्फत सम्बोधन गर्न सकिने स्पष्ट पारेका छन्। आज जारी विज्ञप्तिमा प्रचण्डले लोकतन्त्र र गणतन्त्रको विकल्प खोजिनु नपर्ने, बरु यसलाई अझ सुदृढ बनाउने खाँचो औंल्याएका छन्।
उनले संसद् विघटनजस्ता प्रतिगमनकारी कदमले मुलुकलाई लाभ नहुने भन्दै त्यसबाट टाढा रहन सबै पक्षलाई सचेत गराएका छन्। संविधानले सामाजिक न्याय र समावेशिताको प्रत्याभूति गरिसकेको तर कार्यान्वयनको क्रममा चुनौतीहरू देखिएको स्वीकार गर्दै, उनले अब प्रत्यक्ष कार्यकारी प्रणालीबारे गम्भीर छलफल आवश्यक रहेको धारणा राखेका छन्।प्रचण्डको भनाइमा आन्दोलनरत युवाहरूले संविधानका संवेदनशील विषयहरूलाई केन्द्रमा राखेर नै आफ्नो भावी रणनीति तय गर्ने विश्वास व्यक्त गरिएको छ। यसले आन्दोलनलाई सशक्त राजनीतिक संवादतर्फ मोड्ने संकेत पनि दिएको छ।





