ललिपपको लोभ देखाएर युवाको भविष्य सिध्याउने षड्यन्त्र : प्रभु साह

जनकपुरधाम भदौ २६ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले हाल भइरहेको जनआन्दोलनलाई वास्तविक परिवर्तनको दिशाबाट विचलित गराउने गम्भीर षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै उनले जनआन्दोलनको लक्ष्य केवल व्यक्तिको नेतृत्व परिवर्तन नभई प्रणाली, संरचना र सोचमा आमूल सुधार गर्नु रहेको बताएका छन्। उनको भनाइमा, “देशको आजको दुर्गति कुनै एक व्यक्तिको नेतृत्वको कारण होइन, बरु गलत शासन प्रणाली र संरचनागत त्रुटिहरूको परिणाम हो। भ्रष्टाचार त स्थानीय तहदेखि केन्द्रसम्म, ७६० वटै सरकारमा गहिरो रूपमा मौलाएको छ।”

साहले हालसालै देखिएको युवापुस्ताको सक्रियतालाई सराहना गरे तापनि, उनीहरूमाथि ललिपपू देखाएर भ्रममा पार्ने प्रयास भइरहेको भन्दै कडा शब्दमा विरोध जनाएका छन्। उनका अनुसार युवाहरूलाई सतही नाराबाट माथि उठेर समस्याको मूल जरा पहिचान गर्न आवश्यक छ।

“यदि परिवर्तन केवल नेतृत्व सीमित भयो भने जनक्रान्तिको औचित्य नै खण्डित हुनेछ,” साहले उल्लेख गरे। त्यस्तै, उनले वर्तमान संकट समाधानका लागि दलाल प्रवृत्तिको अन्त्य, लुटेरा मानसिकता र भगौडाहरूबाट देशलाई मुक्त गराउनुपर्ने धारणा व्यक्त गरे। उनका अनुसार समाधानको मार्ग जनपक्षीय अन्तरिम सरकारको गठन, जननिर्वाचित संस्थाहरूको सर्वोच्चता, र नयाँ संविधान निर्माणमा जानु हो।

“देशलाई निकास दिन सक्ने शक्ति अबको पुस्तामा छ,” उनले लेखमा जोड दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ