काठमाडौँ भदौ २४ । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध चर्किँदै गएको जेनजी आन्दोलनका क्रममा घाइते भएका थप दुई जनाको मृत्यु भएको छ।
मंगलबार दिउँसो उपचारका लागि वीर अस्पताल लगिएका ती व्यक्तिहरूको उपचारको क्रममा निधन भएको एक चिकित्सकले जानकारी दिएका छन्। उनका अनुसार केही अन्य प्रदर्शनकारीको अवस्था पनि गम्भीर रहेको छ। घाइते दुई जनाको मृत्यु भएको पुष्टि भएको छ, चिकित्सकले भने, केही गम्भीर घाइतेको उपचार जारी छ।
यससँगै हालसम्म देशभरि आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या २१ पुगेको छ। यसअघि सोमबार मात्र काठमाडौँमा १७ जनाको मृत्यु भएको थियो भने इटहरीमा २ जनाले ज्यान गुमाएका थिए। जेनजी पुस्ताले सुरु गरेको आन्दोलन दिन प्रतिदिन उग्र बन्दै गएको छ। प्रहरीको बल प्रयोग, प्रदर्शनकारीहरूको प्रतिकार, र व्यापक असन्तोषका बीच हालको मृत्युदरले आन्दोलन थप जटिल मोडमा प्रवेश गरिरहेको संकेत दिएको छ।





