काठमाडौँ भदौ २४ । राजनीतिक घटनाक्रम तीव्र बन्दै गएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो पदबाट राजीनामा दिएका छन्। सोही दिन राष्ट्रपति रामचन्द्र पौडेलले ओलीको राजीनामा स्वीकृत गरेका छन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, प्रधानमन्त्रीको राजीनामा राष्ट्रपति कार्यालयमा औपचारिक रूपमा दर्ता गरिएपछि राष्ट्रपति पौडेलले त्यसलाई स्वीकृत गरेका हुन्। ओलीको राजीनामासँगै मुलुकमा नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ हुने देखिएको छ। प्रधानमन्त्री ओलीले एक संक्षिप्त सार्वजनिक सम्बोधनमार्फत राजीनामाको घोषणा गरेका थिए, जहाँ उनले ूदेशको जटिल परिस्थितिमा नयाँ नेतृत्व आवश्यक रहेकोू उल्लेख गरेका थिए। तर विश्लेषकहरू यस निर्णयलाई जेनजी आन्दोलनको चर्किंदो दबाबसँग जोडेर हेर्दैछन्।
यसैबीच, जेनजी पुस्ताको आन्दोलन दिनप्रतिदिन चर्कँदै गएको छ। सोमबार मात्र देशभरि फैलिएका प्रदर्शनहरूमा १९ जनाको ज्यान गएको पुष्टि भएको छ। सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्टाचार, र अभिव्यक्ति स्वतन्त्रता हननविरुद्धको यो आन्दोलनले सरकारमाथि गहिरो दबाब सिर्जना गरेको थियो। राजनीतिक विश्लेषकहरूको भनाइमा, प्रधानमन्त्रीको राजीनामा आफैँमा सामान्य प्रक्रिया हो, तर अहिलेको सन्दर्भमा यो परिवर्तन जनस्तरको दबाबबाट प्रेरित देखिन्छ। ओलीको बहिर्गमनसँगै मुलुकको राजनीतिक भविष्य र जेनजी आन्दोलनको दिशा दुवै महत्वपूर्ण मोडमा पुगेका छन्। नयाँ नेतृत्वले यो आन्दोलनको माग सम्बोधन गर्छ कि गर्दैन भन्ने कुराले अबको राजनीतिक स्थायित्व निर्धारण गर्नेछ।





