काठमाडौँ भदौ २४ । सरकारविरुद्ध जारी जेन्जी पुस्ताको आन्दोलन मंगलबार झनै उग्र बन्दै गएको छ। यसपटक प्रदर्शनकारीहरू देशको न्यायिक सर्वोच्चता प्रतीक सर्वोच्च अदालतसम्म प्रवेश गर्दै, त्यहीँभित्र तोडफोड र क्षति पुर्याउने घटनासम्म पुगेका छन्।
मंगलबार दिउँसो प्रदर्शनकारीहरूको एक समूह सुरक्षा घेरा तोड्दै सर्वोच्च अदालत परिसरभित्र प्रवेश गरेका थिए। उनीहरूले त्यहाँ पार्किङ गरिएका सवारीसाधनहरूमा तोडफोड गर्नुका साथै भवनका भागहरूमा पनि क्षति पुर्याएको बताइएको छ। सर्वोच्च अदालत प्रशासनले घटनालाई गम्भीर र दुर्भाग्यपूर्णू भन्दै तत्काल उच्च सुरक्षा व्यवस्थाका लागि गृह मन्त्रालयमा आग्रह गरेको छ। हालसम्म कुनै ठूलो मानवीय क्षतिको रिपोर्ट भने आएको छैन।
यो घटनाले आन्दोलनले लिएको मोडप्रति गम्भीर प्रश्न उठाइरहेको छ। विश्लेषकहरूका अनुसार, “न्यायपालिकामै हस्तक्षेप हुनु राज्यका लागि चिन्ताको विषय हो। आन्दोलनको मूल भावना जनप्रतिक्रिया भए पनि यसको स्वरूप हिंसात्मक हुँदा यसको नैतिकता कमजोर हुन्छ।”
यसअघि काठमाडौँ, पोखरा, धरान, जनकपुरधामलगायत देशभर फैलिएको यो आन्दोलनमा हालसम्म २० जनाको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन्। जनआन्दोलनको लहर दिनप्रतिदिन चुलिंदै जाँदा, त्यसले मुलुकको स्थायित्व र विधिशासनमा गम्भीर असर पार्न सक्ने देखिएको छ।





