जनकपुरधाम भदौ २३ । सर्प संरक्षण र जनचेतनाको सन्देश फैलाउने उद्देश्यले आयोजना हुँदै आएको नेपाल सर्प महोत्सवको तेस्रो संस्करण धनुषाको मिथिला विहारी नगरपालिकामा आयोजना हुने भएको छ।
सेभ द लाइभ सोसाइटी र मिथिला वाइल्ड लाइफ ट्रस्टको संयुक्त आयोजनामा असोज २ र ३ गते हुने महोत्सवबारे जानकारी सोमबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो।
सांस्कृतिक–वैज्ञानिक कार्यक्रमको समायोजन
महोत्सवमा सर्पसँग सम्बन्धित जनचेतनामूलक स्टल, डकुमेन्ट्री प्रदर्शन, पोस्टर तथा फोटो प्रदर्शनी, सांस्कृतिक नृत्य, सर्प संग्रहालयको नमुना, साथै सर्प समाउने तरिका र उद्धारकला जस्ता कार्यक्रम समावेश हुने आयोजकहरूले जनाएका छन्। नेचर वाक र हर्पिङ ९सर्प तथा उभयचर अवलोकन० जस्ता गतिविधिले सहभागीहरूलाई प्रकृतिसँग प्रत्यक्ष रूपमा जोड्ने प्रयास गरिनेछ।
सर्पदंशबाट बच्न महोत्सवले दिन्छ व्यावहारिक ज्ञान
मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले महोत्सवको प्रमुख उद्देश्य सर्पदंशसम्बन्धी जनचेतना विस्तार रहेको स्पष्ट पारे। उनका अनुसार, “सामान्य ज्ञानको अभावमा सर्पदंशका घटनामा अनावश्यक ज्यान गुमाउने अवस्था अझै कायम छ। सही जानकारी भएमा धेरै घटना टार्न सकिन्छ।” उनले थपे, “सर्पले टोक्दा के गर्ने, प्राथमिक उपचार कसरी गर्ने, कुन सर्प विषालु हुन्छ, कुन हुदैन — यस्ता जानकारी दिन हामी यो महोत्सव गर्दैछौं।”
पहिला कहाँ भए महोत्सवहरू?
नेपाल सर्प महोत्सवको पहिलो संस्करण नवलपुरको कावासोती नगरपालिकामा र दोस्रो संस्करण रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सम्पन्न भएको थियो। यसपटक पहिलोपटक यो मधेस प्रदेशमा आयोजना हुन लागेको हो, जसले क्षेत्रीय सहभागिता र सर्प–मानव सहअस्तित्वको सन्देशलाई अझ फैलाउने अपेक्षा गरिएको छ।





