हेटौँडामा बस दुर्घटना: टायर पड्किँदा ३१ घाइते, २ जनाको अवस्था गम्भीर

हेटौडा असोज ६ । मकवानपुरको हेटौँडामा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा ३१ जना घाइते भएका छन्। तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटना हेटौँडा उपमहानगरपालिका–१० बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा दिउँसो १ बजेतिर भएको हो। चितवनबाट वीरगन्जतर्फ जाँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुवाहक बसको चालक साइडको टायर अचानक पड्किएपछि बस अनियन्त्रित भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ। अनियन्त्रित बस विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ८१८० नम्बरको मालवाहक ट्रकसँग ठोक्किएको थियो। ट्रक पनि नियन्त्रण गुमाउँदै अघि बढ्दा काठमाडौँबाट बारातर्फ जाँदै गरेको ना ७ ख १७७४ नम्बरको खाली तेल ट्याङ्करलाई ठक्कर दिएको थियो।

तीन सवारी एकआपसमा ठोक्किएर दुर्घटना हुँदा यात्रुवाहक बस र ट्रकमा सवार ३१ जना घाइते भएका हुन्। उनीहरूमध्ये गम्भीर घाइते २ जनालाई सिएमसी चुरेहिल अस्पतालमा र अन्यलाई हेटौँडा अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। घटनापछि दुर्घटनाग्रस्त सवारी हटाएर अवरुद्ध पूर्व–पश्चिम राजमार्गमा यातायात सुचारु गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको पनि प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ