जनकपुरधाम असोज ४ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट निष्कासित तथा असन्तुष्ट नेताहरूले नयाँ राजनीतिक दल गठन गरेका छन्। शनिबार मधेस प्रदेशको राजधानी जनकपुरमा सम्पन्न दुईदिने बैठकपछि उनीहरूले ‘जनस्वराज पार्टी’ गठन गरेको घोषणा गरेका हुन्।
नयाँ पार्टीको औपचारिक नेतृत्व डा. सञ्जयकुमार साहले गरिरहेका छन्। बैठकमा सहभागी नेताहरूका अनुसार पार्टी व्यक्तिवाद होइन, सामूहिक नेतृत्वमा सञ्चालन हुने बताइएको छ। पार्टीका संस्थापक सदस्य इञ्जिनियर दीपक साहले भने, “हामी कसैलाई अध्यक्ष बनाउने छैनौँ, विभिन्न विभागमार्फत नेतृत्व बाँडेर जिम्मेवारी दिइन्छ।”
शुरुआतमा तीन विभाग गठन गरिएको छ ;
राजनीतिक संगठन विभागको नेतृत्व इ. दीपक साहलाई,
आर्थिक विभागको जिम्मा इ. सुरेन्द्रनारायण यादवलाई,
प्रशिक्षण विभागको नेतृत्व डा. सञ्जयकुमार साहलाई दिइएको छ।
इ. दीपक साह र इ. सुरेन्द्र यादव दुवै जना जनमत पार्टीमा उपाध्यक्ष र कोषाध्यक्षका रूपमा थिए। उनीहरूलाई अध्यक्ष सीके राउतले अनुशासन उल्लंघनको आरोपमा कारबाही गरेर हटाएका थिए। पार्टी गठनसँगै जनस्वराजले व्यक्तिवादविरुद्ध, सामूहिक नेतृत्वको पक्षमा, सेवामूलक राजनीति र जवाफदेही संयन्त्रको स्थापना गर्ने अठोट सार्वजनिक गरेको छ। यसले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, भ्रष्टाचारविरोधी अभियान, कार्यकारी राष्ट्रपतीय प्रणाली, तथा स्थानीय स्वायत्तता र जनताको प्रत्यक्ष सहभागिता जस्ता मुद्दालाई प्राथमिकतामा राखेको छ।
पूर्व जनमत उपाध्यक्ष अब्दुल खान नेतृत्वको समूह अहिले यस नयाँ पार्टीमा खुलेर नआएको भए पनि सञ्चार र संवाद कायम रहेको इ। दीपक साहले जनाएका छन्। नयाँ पार्टीले “जनताले आफ्नो शासन आफै गर्ने” सिद्धान्तलाई मार्गदर्शन मानेर समावेशी, पारदर्शी र जवाफदेही राजनीतिक संस्कार विकास गर्ने घोषणा गरेको छ।
