काठमाडौँ असोज ३ । भाद्र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरभित्र आगजनी गरिएका सवारी साधनहरू हटाउन थालिएको छ। आन्दोलनका क्रममा विभिन्न मन्त्रालय र कार्यालयमा आगजनी हुँदा क्षति पुगेका सयौँ सवारी साधन अब नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा सारिने तयारी गरिएको छ।
हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको परिसरमा रहेका जलेका गाडीहरू हटाउने काम भइरहेको छ। मन्त्रालय स्रोतका अनुसार, केही दिनभित्रै सिंहदरबारभित्र रहेका सबै क्षतिग्रस्त सवारी साधन हटाइनेछ। आन्दोलनको बेला सरकारी सम्पत्तिमा भएको व्यापक क्षति र त्यसपछि जलाइएका सवारी साधनहरूले सिंहदरबार क्षेत्रको सौन्दर्य र सुरक्षामा असर पुर्याएको भन्दै सरोकारवाला निकायहरूले गाडी हटाउने प्रक्रिया सुरु गरेका हुन्।
