जनकपुरधाम भदौ ३१ । जेनजी आन्दोलनको उथलपुथलको मौका छोपेर उपराष्ट्रपति रामसहाय प्रसाद यादवको कलैयास्थित निजी घरमा लुटपाट भएको छ। उपराष्ट्रपतिको छोरा शत्रुधन यादवका अनुसार, लुटपाट गर्नेहरू जेनजी प्रदर्शनकारी नभई योजनाबद्ध लुटेरा समूह थिए।
उनका अनुसार, लुटेराहरूले घर तोडफोड गर्दै उनकी बहिनीको आउँदो मंसिर ८ गते हुने बिहेका लागि संकलन गरिएको गरगहना, नगद रकम र घरायसी अन्नसमेत लुटेका र जलाएका छन्। धेरै वर्ष लगाएर बनाएको घरमा राम्रोसँग बस्न नपाउँदै यस्तो भएछ, साह्रै दुःख लागेको छ, शत्रुधनले भने। घटनापछि उपराष्ट्रपतिकी पत्नी चम्पादेवी यादव मानसिक रूपमा आहत भएकी छन्। छोरा शत्रुधन स्वयं पनि बिरामी भएर केही दिनदेखि अस्पतालमा उपचाररत छन्। यो घटनाले आन्दोलनको नाममा भइरहेका अराजकताहरूको गम्भीर रूप देखाएको छ। जेनजी आन्दोलनकै क्रममा गत मंगलबार पूर्वमन्त्री किसान श्रेष्ठ, ज्वालाकुमारी साह लगायतका घरमा पनि आगजनी र तोडफोड भएको थियो।
बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार, निजगढ, जीतपुरसिमरा, सिमरा, विश्रामपुर लगायतका नगरपालिका तथा वडाहरूमा सार्वजनिक सम्पत्तिहरूमा व्यापक क्षति पुगेको छ। आन्तरिक राजस्व कार्यालय, नगर कार्यालय, प्रशासनिक भवन, सवारी साधन, र वडा कार्यालयहरू तोडफोड र आगजनीबाट ध्वस्त छन्। प्रहरीका अनुसार आन्दोलनको मौका लिएर निजी सम्पत्तिमा आक्रमण गर्ने, उक्साउने र संलग्न हुनेहरूको फोटो–भिडियोको आधारमा पहिचान गरी कानुनी कारबाही गरिनेछ। प्रहरी उपरीक्षक तामाङले भने, “आज कारबाही नगरे जनतामा बदलाको भावना चुलिन्छ, र भोलिका लागि अझ ठूलो दुर्घटना निम्तिन सक्छ।”
