प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै सुदन गुरुङ नेतृत्वको समूहको बालुवाटार विरोध

काठमाडौँ भदौ ३० । प्रधानमन्त्री सुशीला कार्कीको मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै सुदन गुरुङ नेतृत्वको समूहले सोमबार मध्यराति बालुवाटार अगाडि नाराबाजी गरेको छ। विरोध प्रदर्शनकारीहरूले प्रधानमन्त्री कार्कीको तुरुन्त राजीनामा दिन माग गरेका छन्।

प्रदर्शनकारीहरूले ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाउँदै सरकारको कदमविरुद्ध आवाज उठाएका थिए। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुदन गुरुङले भने, “सबैभन्दा शक्तिशाली नेपाली जनता हो। कसैले हामीलाई रोक्न सक्दैन। जुन ठाउँमा हामीले आफूलाई राखेका छौं, त्यहाँबाट हट्न हामी कहिल्यै सहमत छैनौं।” यसअघि प्रधानमन्त्री कार्कीले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहका कानूनी सल्लाहकार ओम प्रकाश अर्याललाई गृह मन्त्रालय, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयमा नियुक्त गरेका थिए। तर, सुदन गुरुङको समूहले आफूहरूसँग कुनै परामर्श नगरिकन मन्त्री नियुक्त गरिएकोमा कडा आपत्ति जनाएको छ।

ओम प्रकाश अर्याललाई लिएर सुदन गुरुङले तीव्र असन्तुष्टि प्रकट गर्दै भने, “यो ओम प्रकाश आफैंले गृह मन्त्री बन्ने योजना बनाएको रहेछ। भित्र बसेर यस्तो निर्णय गरिएको छ।” सुदन गुरुङ समूहले आगामी दिनमा पनि सरकारविरुद्ध आवाज बुलन्द गर्ने चेतावनी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ