काठमाडौँ भदौ २९ । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवामाथि जेनजी आन्दोलनका क्रममा भएको आक्रमणलाई अमानवीय र बर्बरतापूर्ण भनेको छ।
भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा रहेका बेला प्रदर्शनकारीद्वारा कुटपिटमा परेका देउवा दम्पत्ति हाल पनि उपचाररत छन्। उक्त आक्रमणको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उपसभापति पूर्णबहादुर खड्काले आइतबार जारी विज्ञप्तिमा, देउवा दम्पतीमाथिको भौतिक हमला लोकतान्त्रिक मूल्यविपरीत भएको भन्दै कडा भर्त्सना गरेका छन्। उनले जेएनजी आन्दोलनका क्रममा भएको मानवीय क्षति, सार्वजनिक सम्पत्तिको विनाश र प्रतिनिधिसभा विघटन जस्ता विषयमा पार्टीको धारणा स्पष्ट रहेको बताएका छन्।
कांग्रेसले आन्दोलनमा अवाञ्छित घुसपैठ भएको र त्यसकै कारण सिंहदरबारदेखि निजी घरसम्ममा खर्बौंको क्षति भएको बताउँदै सरकारसँग घटनाको छानबिन र क्षतिको यथार्थ मूल्याङ्कन तत्काल गर्न माग गरेको छ।
