घाइते जेनजी ; भ्रष्टाचार फेरि आयो भने फेरि गोली थप्न तयार

काठमाढडौँ भदौ २९ । जेनजी आन्दोलनले देशमा नयाँ राजनीतिक मोड ल्याएको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नयाँ अन्तरिम प्रधानमन्त्री बनेकी छिन्, तर हजारौं युवा आन्दोलनका क्रममा घाइते भएका छन् र अझै पनि उपचाररत छन्।

१९ वर्षे सुभाष दाहाल, जसलाई संसद् भवन बाहिर भदौ २४ गते गोली लागेको थियो, अस्पतालको ओछ्यानबाट भन्छन्, “भ्रष्ट प्रधानमन्त्रीलाई हटाउन मेरो दुबै घुँडाले दुई वटा गोली खानुपर्यो। नयाँ नेतृत्व पनि भ्रष्ट निस्कियो भने म छातीमा गोली थाप्न पनि तयार छु।” दाहाल अहिले काठमाडौँको निजामती अस्पतालमा उपचाररत छन्। निजामती अस्पताल र ट्रमा सेन्टरमा उपचाररत दर्जनौँ विद्यार्थी र युवामध्ये दाहाल मात्र होइन, आदित्य रावल पनि छन्। रावलले पनि गोलीका कारण शरीरमा गम्भीर चोट पाएका छन्। डिजिटल मार्केटिङ एजेन्ट रहेका रावलले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले आफ्नो कामलाई ठुलो असर गरेको बताएका छन्। उनले बताए, “म कुनै राजनीतिक समूहसँग जोडिएको छैन, तर मेरो आफ्नै इच्छाले परिवर्तनका लागि आन्दोलनमा सहभागी भएँ।” आन्दोलनका क्रममा भएका घटनाहरूको वर्णन गर्दै रावलले भने, “संसद् भवनभित्र केही मान्छेले तोडफोड गर्न लाग्दा प्रहरीले गोली चलायो। मलाई पेटमा तीन वटा गोली लागेको थियो।” उनी प्रहरीको गोलीबाट घाइते भएका अरू तीन जनालाई अस्पताल पुर्‍याउन पनि सहयोग गरेका थिए।

चितवनका व्यवसायी रमेश परिहारले पनि आन्दोलनमा सहभागिता जनाएका थिए। उनले भने, “राजनीतिक दलले भनेका होइनन्, मैले आफ्नै इच्छा अनुसार आन्दोलनमा भाग लिएँ। अधिकांश प्रदर्शनकारी निर्दोष थिए, भ्रष्टाचार विरुद्ध आवाज उठाएका नागरिक।” उनले आफ्नो देब्रे खुट्टामा चोट लागेको र देशका लागि बलिदान दिएको बताए। उनले आन्दोलनबाट आएको परिवर्तन वास्तविक हुनुपर्ने र भविष्यमा युवाहरूलाई सडकमा आउन बाध्य नपार्नुपर्नेमा जोड दिए। यस आन्दोलनमा अहिलेसम्म ५१ जनाको मृत्यु भइसकेको छ भने हजारौं घाइते भएका छन्। नयाँ सरकारले आगामी फागुन २१ मा निर्वाचन गर्ने जिम्मेवारी पाएको छ। प्रधानमन्त्री कार्कीले शनिबार आन्दोलनका घाइते र तिनका परिवारसँग भेट गरी आवश्यक सहयोगको आश्वासन पनि दिएकी छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ