काठमाडौँ भदौ २९ । भदौ २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलन दिनदिनै चर्किँदै गएको छ। आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाले ज्यान गुमाइसकेको प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिएका छन्।
मुख्य सचिवका अनुसार मृतकमध्ये ५९ जना आन्दोलनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन्।
घाइतेहरुको संख्या पनि उच्च छ। हालसम्म १३४ जना प्रदर्शनकारी र ५७ जना सुरक्षाकर्मी उपचाररत छन्। आन्दोलन भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध विरुद्ध सुरु भएको हो। पहिलो दिन राजधानीलगायतका क्षेत्रमा युवाहरुको प्रदर्शनमा प्रहरीसँग ठोक्किँदा स्थिति भयावह बन्न पुगेको थियो। अर्को दिन, विभिन्न स्थानमा आगजनी र तोडफोडको क्रम बढेको थियो। यही क्रममा केही स्थानमा आगलागीका कारण मृत्यु हुनेको संख्या थपिएको अनुमान गरिएको छ। आज बिहानमात्रै चाबहिलको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा ६ जना मृत अवस्थाको शव फेला परेको छ।
प्रहरीका अनुसार केही अज्ञात शवहरू भेटिन बाँकी छन् र आगलागीग्रस्त क्षेत्रहरु सफा गर्ने क्रममा थप शव फेला पर्ने सम्भावना रहेको छ। सामाजिक आक्रोश र राजनीतिक दबाबबीच आन्दोलन कहाँ जालारु यो यतिबेला सबैको चासोको विषय बनेको छ।
