रवि लामिछाने पुन जेल जान तयार; रास्वपामा हलचल

काठमाडौँ भदौ २८ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने कारागार फर्कन तयार भएको जनाइएको छ। शुक्रबार कार्यवाहक सभापति, जिल्ला प्रशासन प्रमुख र नख्खु कारागार प्रमुखबीच भएको भेटवार्तापछि यस्तो सहमति बनेको हो।

भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झाले प्रशासनले खबर गरेलगत्तै सभापति लामिछाने कानुनी प्रक्रियाअनुसार कारागार जान तयार भएको स्पष्ट पार्नुभयो। “हामी कानुनी प्रक्रिया र राज्य संयन्त्रको सम्मान गर्छौं,” प्रवक्ता झाले भन्नुभयो, “प्रशासनको औपचारिक जानकारीपछि सभापति लामिछाने कारागार जानुहुनेछ।” यसअघि जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारी समूहले नख्खु कारागारमा तोडफोड गर्दै कैदीबन्दीहरूलाई जबरजस्ती बाहिर ल्याएका थिए। त्यही घटनाक्रममा सभापति लामिछाने पनि बाहिर निस्कनुभएको थियो। यद्यपि, उक्त बाहिरिनु उहाँको व्यक्तिगत निर्णय नभई परिस्थितिजन्य बाध्यता भएको पार्टीले प्रष्ट पारेको छ।

प्रवक्ता झाले भने, “भीडबाट बाहिरिनु भएको भए पनि उहाँ कानुनी बाटोबाट पुनः कारागार फर्कन तयार हुनुहुन्छ, र यो विषयमा हामी प्रशासनसँग पूर्ण रूपमा सहकार्यमा छौं।” घटनाले राजनीतिक तथा कानुनी वृत्तमा चासो र बहस उत्पन्न गरिरहेको छ। लामिछानेमाथि जेल फिर्तीको तयारीलाई केहीले सकारात्मक रूपमा लिएका छन् भने केहीले राज्य संयन्त्रको कमजोरीको संकेतका रूपमा पनि हेरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ