पाकिस्तान भदौ १८ । बलोचिस्तान नेशनल पार्टी बीएनपीको राजनीतिक र्यालीपछि पाकिस्तानको क्वेटा शहरमा भएको शक्तिशाली बम विस्फोटमा १३ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्।
घटनास्थलमा उपस्थित घाइते जमान बलोचले बीबीसीसँगको कुराकानीमा बैठक सकिएपछि साथीलाई कुरिरहेको बेला अचानक विस्फोट भएको बताएका छन्। विस्फोट नवाब नियाज जेहरीको सवारी साधन नजिकै भएको बीएनपीका केन्द्रीय सूचना सचिव आगा बलोचले पुष्टि गरेका छन्। उनका अनुसार केही सुरक्षाकर्मीहरू पनि मारिएका छन्। राज्य सरकारले घटनाको उच्चस्तरीय अनुसन्धान गर्न आदेश दिएको छ। बलोचिस्तानका मुख्यमन्त्रीले विस्फोटलाई “मानवताविरोधी कायरतापूर्ण कार्य” भन्दै कडा शब्दमा निन्दा गरेका छन्।
