अफगानिस्तानमा शक्तिशाली भूकम्प, मृतक संख्या ८०० नाघ्यो

अफगानिस्तान भदौ १६ । अफगानिस्तानको पूर्वी क्षेत्रमा गएको ६ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ सयभन्दा बढी पुगेको छ। न्यूयोर्क टाइम्सका अनुसार, यस विनाशकारी भूकम्पमा २५०० भन्दा धेरै व्यक्ति घाइते भएका छन् भने मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

आइतबार राति ११;४७ बजे, नांगरहार प्रान्तको जलालाबाद शहरदेखि १७ किलोमिटर उत्तरपूर्वमा केन्द्रित भूकम्पले स्थानीयवासीको जनजीवन तहसनहस बनाएको छ। जलालाबाद क्षेत्रमा करिब २ लाख मानिस बसोबास गर्दथे, तर सबैभन्दा बढी क्षति उत्तरतर्फको कुनार प्रान्तमा भएको बताइएको छ। कुनारका अधिकांश घरहरू ढुंगा र माटो प्रयोग गरेर बनाइएका भएकाले भूकम्पको झट्कामा ठुलो क्षति भएको हो। दुर्गम र पहाडी भेग भएका कारण उद्धार कार्यमा पनि जटिलता आइरहेको छ।

प्रभावित क्षेत्रको भौगोलिक कठिनाइ, कमजोर संरचना, र सीमित स्रोतका कारण उद्धार र राहत कार्य सुस्त भएको जनाइएको छ। २०२२ मा पनि यस्तै प्रकृतिको ५.९ म्याग्निच्युडको भूकम्पमा कम्तीमा १,३०० जनाको मृत्यु भएको थियो।भूकम्पको धक्का राजधानी काबुल ९२०० किलोमिटर टाढा० र पाकिस्तानको राजधानी इस्लामाबाद ४०० किलोमिटर टाढा सम्म महसुस गरिएको थियो। भूकम्पपछि ४.५ देखि ५.२ म्याग्निच्युडका कम्तीमा तीन पराकम्प पनि आएका छन्।तालिबान सरकारले अन्तर्राष्ट्रिय राहत संस्थाहरूसँग हेलिकप्टरसहित सहयोग उपलब्ध गराउन आह्वान गरेको छ। उनीहरूले उद्धारका लागि आफूसँग स्रोतसाधन पर्याप्त नरहेको भन्दै वैदेशिक सहायताको अपिल गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ