वीरगन्जमा हैजा संक्रमण फैलिएपछि आपत्कालीन नियन्त्रण अभियान सुरु

पर्सा भदौ ७ । वीरगन्जमा हैजा संक्रमण समुदाय स्तरमै तीव्र गतिमा फैलिएको छ। ३० भन्दा बढी बिरामी भेटिएका छन् भने झाडापखालाका कारण ३ जनाको मृत्यु भएको छ। यद्यपि मृतकहरूमा हैजा पुष्टि हुन बाँकी छ भने ३ जनामा हैजाको जीवाणु भेटिएको छ।

शुक्रबार राति वीरगन्ज–१२ मुर्ली टोलमा पहिलो संक्रमण देखिएपछि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ। शनिबारसम्ममा वडा नम्बर ११, १३ र १६ मा संक्रमण फैलिएको पुष्टि भएको छ। वीरगन्ज महानगरपालिकाले हैजा नियन्त्रणका लागि अस्पताल सञ्चालकहरूसँग समन्वय बैठक समेत गरेको छ। महानगर प्रमुख राजेशमान सिंहले संक्रमण रोकथामका लागि सबै स्रोतसाधन परिचालन गर्न निर्देशन दिएका छन्। अहिले ३२ वटै वडाका स्वास्थ्यकर्मीहरूलाई संक्रमित क्षेत्रमा परिचालन गरिएको छ भने आकस्मिक अवस्थाका लागि एम्बुलेन्स, औषधि र अन्य साधनहरू पनि स्ट्यान्डबाइमा राखिएको छ।

वीरगन्जको १ देखि १६ नम्बर वडा बढी जोखिमयुक्त क्षेत्र मानिएको छ। महानगरपालिकाले संक्रमण नियन्त्रणका लागि हेल्प डेस्क र सूचना केन्द्र स्थापना गरी जनचेतना अभिवृद्धिमा समेत ध्यान दिएको छ। नारायणी अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा गरिएको परीक्षणमा तीन जना बिरामीमा हैजाको जीवाणु ‘भिब्रियो कोलेरा’ पुष्टि भएको छ। यसबीच, झाडापखालाका बिरामीहरूको चाप वीरगन्जका अस्पतालहरूमा बढ्दो क्रममा छ।

धेरै क्षेत्रहरूमा ढल र खानेपानी मिसिएको समस्याका कारण महामारी फैलिएको अनुमान गरिएको छ। महानगरपालिकाले क्लोरिन हालेर पानी शुद्ध गर्ने, उमालेर खाने, तथा सफा खानेपानी प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, स्वास्थ्यकर्मीहरूले घरघरमा सचेतना अभियान सञ्चालन गरी हात धुने, सफाइ र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन जनतालाई आग्रह गरिरहेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ