मधेशमा बालबालिका डुबेर मृत्यु: वर्षेनि बढ्दो चिन्ताजनक अवस्था

जनकपुरधाम भदौ ३ । मधेश प्रदेशमा पानीमा डुबेर मृत्यु हुने बालबालिकाको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। पछिल्लो तीन वर्षमा मात्रै ५८६ जनाको मृत्यु पानीमा डुबेर भएको मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ, जसमध्ये ३४० जना बालबालिका रहेका छन्।

तथ्यांक अनुसार बाल मृत्युदरमा बालकको संख्या बालिकाको तुलनामा दोब्बर छ। कुल ३४० बाल मृतकहरूमध्ये २२७ बालक र ११३ बालिका रहेका छन्। सन् २०७९ र ८० देखि २०८१ र ८२ सम्मको विवरण हेर्दा वर्षेनि डुबेर मृत्यु हुनेहरूको संख्या क्रमशः १५५, १७५ र २५६ रहेको छ। २०८१ र ८२ मा मात्रै डुबेर मृत्यु हुने २५६ जनामध्ये १५० जना बालबालिका थिए — ९६ बालक र ५४ बालिका।

थुप्रै पीडादायी घटनाहरू

गत असार २४ गते जनकपुरधाम उपमहानगरपालिका–१६ स्थित भैया पोखरीमा ४ वर्षीया आरोहीकुमारी र ३ वर्षीया मैथिलीकुमारी राउतको डुबेर मृत्यु भयो। बिहान पोखरीमा नुहाउन गएका उनीहरू गहिरो पानीमा फसेर ज्यान गुमाए। त्यस्तै, जेठ महिनामा धनुषाको कमला नगरपालिकामा सडक निर्माणका लागि खनिएको खाल्डोमा पानी जम्दा ७ वर्षीय रितिक साह र ५ वर्षीय रितिश साहको ज्यान गएको थियो।

गत वर्ष असार २० मा धनुषाको धनौजी गाउँपालिका–५ स्थित सार्वजनिक पोखरीमा १०–१२ वर्षकी तीन बालिकाहरू — मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन — डुबेर ज्यान गुमाएका थिए।

कारणहरूस् अभिभावकको लापरबाहीदेखि सरकारी बेवास्तासम्म

मधेश प्रदेश प्रहरी कार्यालयका अपराध अनुसन्धान अधिकृत प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार छारे रोग, जथाभाबी खनिएका खाल्डाखुल्डी, र अभिभावकको लापरबाही डुबेर मृत्यु हुने प्रमुख कारण हुन्। उनका अनुसार, डुबेर मृत्यु हुनेमा महिला र बालिकाको तुलनामा पुरुष र बालकको संख्या उल्लेख्य रुपमा बढी छ। प्रदेशका आठवटै जिल्लामा यस्तो घटनाको वृद्धि देखिए पनि सबैभन्दा बढी घटना धनुषा जिल्लामा भएको प्रहरीको भनाइ छ।

सुरक्षा र जनचेतना अपरिहार्य

विशेष गरी गर्मी मौसममा बालबालिका पोखरी, नहर र खाल्डोमा नुहाउन जान्छन्। त्यस्ता स्थानमा सुरक्षाको न्यूनतम व्यवस्था समेत नहुनु र अभिभावकको ध्यान नपुगेका कारण त्रासदीपूर्ण घटनाहरू दोहोरिरहने गरेका छन्। सरकारी निकाय र स्थानीय तहले अब बालसुरक्षा र जलजन्य जोखिम नियन्त्रणमा ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर