
जनकपुरधाम साउन ३१ । आगामी एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणको ट्रफी वीरगञ्जमा अनावरण गरिएको छ। मधेश स्पोट्स प्रालि। को आयोजनामा भएको समारोहमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र मधेश युनाइटेडकी ब्रान्ड एम्बेसडर नीति शाहले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरे।
सोही अवसरमा मेयर सिंहले लिगमा प्रतिस्पर्धा गर्ने मधेश युनाइटेड टिमको नयाँ जर्सी पनि सार्वजनिक गर्दै मार्की प्लेयर निरुता ठगुन्नालाई हस्तान्तरण गरे। कार्यक्रममा मधेश युनाइटेडका सञ्चालक शर्मिला थापाको अध्यक्षतामा सञ्चालन भएको थियो। मेयर सिंहले भलिबल खेलले मधेश क्षेत्रमा खेलकुद विकाससँगै महिला सशक्तिकरणमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे। मधेश विश्वविद्यालयका उपकुलपति प्रा। डा। दिपक शाक्यले भलिबलले सामाजिक र मानसिक स्वास्थ्यमा योगदान पुर्याउने भन्दै यसको निरन्तरता आवश्यक रहेको बताए।
कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले खेलकुदले युवालाई सकारात्मक मार्गदर्शन दिने र शहरको प्रतिष्ठा बढाउने बताए। मधेश युनाइटेडका सञ्चालक विशाल अग्रवालले टिमको दीर्घकालीन योजनाबारे जानकारी दिए भने सञ्चालन प्रमुख खुशी शिवाकोटीले विगत अनुभव र आगामी तयारी प्रस्तुत गरिन्।
ब्रान्ड एम्बेसडर नीति शाहले टिमसँग आबद्ध हुनु गर्वको विषय भएको उल्लेख गरेकी छन् भने मार्की प्लेयर निरुता ठगुन्नाले यसपटक ट्रफी मधेशमै ल्याउने लक्ष्य राखेकी छन्। शिवाकोटीले यो संस्करणका लागि नेदरल्याण्डका तीन अन्तर्राष्ट्रिय खेलाडी अनुबन्धन गरी टिमलाई अझ सशक्त बनाइएको जानकारी दिइन्। कार्यक्रममा सुरक्षाकर्मी, सरकारी अधिकारी र व्यवसायीहरू समेत उपस्थित थिए। एभरेस्ट महिला भलिबल लिग पोखरामा भदौ २० देखि सुरु हुँदैछ र यसको प्रत्यक्ष प्रसारण हिमालय टिभी प्रिमियममार्फत गरिनेछ।