धम्कीपछि कदम : कपिल शर्माको सुरक्षा सतर्क बनायो मुम्बई प्रहरीले

भारत साउन २७ । भारतीय चर्चित कमेडियन कपिल शर्मा पछिल्ला केही दिनदेखि गम्भीर सुरक्षा जोखिमको चपेटामा परेका छन्। क्यानडामा रहेको उनको क्याप्स क्याफेू मा दुई पटकसम्म भएको गोलीकाण्ड र ग्याङस्टर गिरोहबाट आएका धम्कीपछिको चापका बीच मुम्बई प्रहरीले उनको सुरक्षा थप कडा बनाएको छ।

पहिलो गोलीकाण्डको जिम्मेवारी खालिस्तानी आतङ्ककारी हरजीत सिंह लाडीले लिएका थिए भने दोस्रो घटना लरेन्स बिश्नोई ग्याङसँग सम्बन्धित ग्याङस्टर गोल्डी ढिल्लनले गरेको दाबी गरिएको छ। उक्त गोलीकाण्ड अगस्ट ७ मा भएको हो।ढिल्लनले सामाजिक सञ्जालमार्फत एक पोस्ट सार्वजनिक गर्दै आफूले आक्रमण गराएको खुलासा गरेका थिए।

पोस्टमा उल्लेख गरिएको थियो; “हामीले कपिललाई सम्पर्क गर्न प्रयास गरेका थियौं, तर जवाफ नआएकोले क्याफेमा गोली हान्ने निर्णय गरियो। यदि अब पनि उनले प्रतिक्रिया दिएनन् भने, मुम्बईमै कारबाही हुनेछ।”

यी धम्कीहरूपछि मुम्बई प्रहरी सतर्क भएको छ। प्रहरी स्रोतअनुसार, कपिलको घर र कार्यक्षेत्र वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ र आवश्यक परे थप सुरक्षा तैनाथ गरिनेछ। क्यानडामा कपिलको क्याफेमा दोस्रो आक्रमण हुनु केही दिन अघि सरे शहरका प्रहरी अधिकारीहरू र मेयर खाजा खान उक्त क्याफेमा निरीक्षण गर्न पुगेका थिए। त्यसको भिडियो कपिलले आफ्ना सामाजिक सञ्जालमा सेयर गरेका थिए।

घटनालाई थप सनसनीपूर्ण बनाउँदै ग्याङस्टर ह्यारी बक्सरले अडियो नोट जारी गरेका छन्, जसमा उनले सम्पूर्ण बलिउडलाई चेतावनी दिँदै, सलमान खानसँग आवद्ध कुनै पनि व्यक्ति उनको निशानामा पर्नेू धम्की दिएका छन्। यी श्रृंखलाबद्ध घटनाक्रमले केवल कपिल शर्मा मात्र होइन, बलिउडको सुरक्षा अवस्था र ग्याङस्टर गिरोहहरूको बढ्दो प्रभावप्रति पनि गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर