बारा साउन १८ । जलसंकटको चपेटामा परेको मधेसलाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि राहत प्याकेजको अभावले जनताको पीडा झनै बढेको आम जनता पार्टी आजपा का अध्यक्ष प्रभु साहले बताएका छन्।
बाराको कलैयामा आजपाद्वारा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले मधेसका आठ जिल्लालाई सुक्खा क्षेत्र घोषणा गरेर सरकार काम गरेझैँ देखाउन खोज्दैछु भन्ने आरोप लगाए। संकट घोषणा मात्र गरेर जनता बाँच्दैनन्, किसानलाई सिंचाइ चाहिन्छ, सर्वसाधारणलाई खानेपानी चाहिन्छ। सरकारले राहत ल्याउन सकेको छैन, यही हो वास्तविक लापरवाही, साहको भनाइ थियो।
सरकारले मधेसमा देखिएको गम्भीर जलसंकटलाई लिएर जेठ महिनामा सुक्खा क्षेत्र घोषणा गरेको थियो। तर साहका अनुसार, त्यसयता कुनै पनि प्रभावकारी राहत कार्यक्रम सुरू गरिएको छैन। उनले सरकारसँग तत्काल राहत प्याकेज ल्याउन र दीर्घकालीन रूपमा पानी संकट समाधान गर्न पूर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरे।
कार्यक्रममा आजपा बाराका अध्यक्ष राजकिशोर साह, केन्द्रीय सदस्यहरू अशोक लामा, त्रिभुवन साह, उमेश कुश्वाहा लगायतको पनि उपस्थिति थियो। उनीहरूले बारासहितका मधेसका जिल्लाहरूमा किसान र सर्वसाधारणले भोगेको पीडा सरकारको अकर्मण्यताको उदाहरण भएको बताए।
स्थानीय नेतृत्वद्वारा दीर्घकालीन समाधानको माग
कार्यक्रममा सहभागी नेताहरूले राहतका साथै भू–जल पुनर्भरण, सिँचाइ प्रणाली सुधार, र खानेपानी पहुँच विस्तारको लागि दीर्घकालीन योजना बनाउन सरकारलाई दबाब दिनुपर्ने बताएका छन्।





