जनकपुरधाम साउन १८ । मधेशका खडेरीले पिल्सिएका क्षेत्रहरूमा पछिल्ला केही दिनदेखि भइरहेको भारी वर्षाले राहतको सास फुक्न पाइएको छ। सरकारद्वारा संकटग्रस्त घोषित यस भूभागमा पानी पर्ने क्रम जारी रहँदा किसानहरूलाई राहत मिलेको छ भने वर्षाले खेतबारीमा हरियालीको सम्भावना देखिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा मधेशका विभिन्न ठाउँमा उल्लेख्य मात्रामा वर्षा मापन गरिएको छ। सबैभन्दा बढी सिराहको सिराह हाइड्रो केन्द्रमा १०१।६ मिलिमिटर वर्षा भएको छ, जुन ‘धेरै भारी वर्षा’ को श्रेणीमा पर्दछ। यस्तै, सिराहकै लहानमा ७७।२, गोलबजारमा ५२।८, सप्तरीको मरमझियामा ९३, रुपनी बजारमा ८२, र कल्याणपुरमा ४९।४ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ। धनुषा, महोत्तरी र सर्लाहीका विभिन्न स्थानमा पनि वर्षा उल्लेख्य मात्रामा मापन गरिएको छ।
मधेशमा मात्र होइन, पूर्वी पहाडी र तराई भूभागमा पनि व्यापक वर्षा मापन भएको छ। सबैभन्दा बढी वर्षा उदयपुरको गाइघाटमा १३२ मिलिमिटर मापन गरिएको छ भने झापाको अनारमनीमा १२५ र दमकमा ११२।८ मिलिमिटर वर्षा भएको छ। शुक्रबार रातिदेखि भइरहेको भारी वर्षाको क्रम शनिबारसम्म पनि जारी रहँदा खेतीका लागि आवश्यक चिस्यान पुग्न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पनि मधेशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने सम्भावना छ।
कृषकहरू भन्छन् – अब धान रोप्न सकिने आशा पलाएको छ।





