मधेस प्रदेशमा १८ करोड खर्चेर स्यालो ट्युबवेल सेवा विस्तार

जनकपुरधाम साउन १७ । मधेस प्रदेश सरकारले पानी अभाव र खडेरीको मारमा परेका किसानलाई राहत दिने उद्देश्यले रु १८ करोडको लागतमा स्यालो ट्युबवेल वितरणको प्रक्रिया अघि बढाएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत सुक्खाक्षेत्र सहयोग कार्यक्रमअन्तर्गत आठ जिल्लाका किसानलाई लक्षित गर्दै यो योजना ल्याइएको हो।

धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरीका पानी अभावमा परेका किसानलाई सम्बन्धित कृषि ज्ञान केन्द्रमार्फत स्यालो ट्युबवेल वितरण शुरु भईसकेको मन्त्रालयका प्रवक्ता सरोज चौधरीले जानकारी दिए। कुल एक हजार दुई सय स्यालो ट्युबवेल वितरण गर्ने लक्ष्य रहेको बताइएको छ।

त्यस क्रममा, एउटा स्यालो ट्युबवेल जडानमा रु एक लाखदेखि तीन लाखसम्म खर्च हुने अनुमान गरिएको छ भने सोलार पावर जोड्दा थप खर्च लाग्ने छ। पानीको सतहको गहिराइअनुसार लागतमा भिन्नता आउने प्रवक्ता चौधरीले बताए।

स्यालो ट्युबवेल वितरणका लागि हाल सातदिने सूचना जारी गरिएको छ। इच्छुक किसानले दुई बिघा खेतीयोग्य जमिन भएको प्रमाणित लालपुर्जा कृषि ज्ञान केन्द्रमा पेश गर्नुपर्नेछ। मन्त्रालयका अनुसार हालसम्म मधेस प्रदेशमा पानी अभावका कारण केवल ५० प्रतिशत मात्र धानखेती भएको छ, जसलाई सुधार्न यो योजना महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ