पानीटङ्की नाकाबाट सात नेपाली किशोरीको उद्धार, दुई तस्कर पक्राउ

काठमाडौँ साउन १७ । वैदेशिक रोजगारीको नाममा भारत पुर्‍याइएका सात नेपाली किशोरीलाई भारतीय प्रहरीले पश्चिम बंगालको पानीटङ्की सीमावर्ती नाकाबाट उद्धार गरेको छ। मानव तस्करीको आशंकामा दुई जना पुरुषलाई पक्राउ गरिएको छ। उद्धार कार्य शुक्रबार सम्पन्न भएको हो। माइती नेपाल कोशी प्रदेश संयोजक गोविन्द घिमिरेका अनुसार, उद्धारपछि किशोरीहरू र अभियुक्तहरूलाई खोरीबारी प्रहरी थानामा राखिएको छ। उद्धार गरिएका सबै किशोरीहरू सङ्खुवासभा जिल्लाका हुन्।

पक्राउ परेकामध्ये एक जना भारतको दार्जिलिङस्थित तोरीबारीका ४१ वर्षीय दिपेश गुरुङ हुन् भने अर्का नेपालका ६१ वर्षीय जपन गुरुङ हुन्, जो सङ्खुवासभा मकालु–३ निवासी हुन्। उनीहरूले हङ्कङ रोजगारीको प्रलोभन देखाएर किशोरीहरूलाई पूर्वी नाका काँकडभिट्टा हुँदै भारत प्रवेश गराएका थिए।

भारतीय प्रहरीका अनुसार अभियुक्तहरू किशोरीहरूको आधार कार्डलगायत नक्कली कागजात बनाउनका लागि सिलिगुढी लैजाँदै गर्दा पक्राउ परेका हुन्। माइती नेपालको टोली किशोरीहरूलाई लिन शुक्रबार नै पानीटङ्की पुगेको थियो। तर, कानुनी प्रक्रिया पूरा गर्नुपर्ने जनाउँदै भारतीय प्रहरीले उनीहरूलाई तत्काल नेपाल नसपु¥याइएको संयोजक घिमिरेले जानकारी दिए।

यसबारे इलाका प्रहरी कार्यालय काँकडभिट्टाले भने भारतीय पक्षबाट कुनै आधिकारिक जानकारी नआएको जनाएको छ।मानव तस्करीको यो घटना पुनः एकपटक नेपाल–भारत सीमामा कमजोर निगरानी र तस्करीमा संलग्न गिरोहको सक्रियता उजागर गर्ने संकेतका रूपमा देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ