लहान साउन १६ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भूमिगत जलको सतह तीव्र गतिमा घटिरहेको बताउँदै, पानी संकटको समाधान डिप बोरिङ होइन, दीर्घकालीन पुनःभरण रणनीति नै हुनुपर्ने स्पष्ट पारेका छन्। बिहीबार लहानमा आयोजित सार्वजनिक कार्यक्रममा उनले जलस्रोतको दोहन बढ्दो क्रममा रहेकाले अबको प्राथमिकता ‘रेनवाटर हार्वेस्टिङ’ र भूमिगत जल पुनःभरण हुनुपर्नेमा जोड दिए।
मुख्यमन्त्री सिंहले भने, “जहाँ ठूला डिप बोरिङ गाडिन्छन्, वरपरका गाउँहरूमा पानी सुक्न थालेको छ। पानी निकालिन्छ, तर जमिनले सोस्ने अवसर पाउँदैन। यस्तो गतिमा गयौं भने भोलिको मधेस मरुभूमि बन्न सक्छ।”
सडकहरू सिमेन्टेड, जमिनले पानी छुनै पाउँदैन
मुख्यमन्त्रीका अनुसार, अहिलेका सडक, ढल र नालाहरू सबै सिमेन्टेड छन्, जसले गर्दा वर्षाको पानी सीधा नालाबाट खोलामा पुग्छ, तर जमिनमा पुग्दैन। “पानी जमिनमा नपुग्नु भनेको भूजल रित्तिँदै जानु हो। अनि बाँच्नै नसकिने अवस्था आउन सक्छ,” उनले चेतावनी दिए।
चुरे क्षेत्रलाई ‘पानीको मुटु’ भनी संरक्षणमा जोड
सिंहले चुरे संरक्षणलाई भूजल पुनःभरणसँग प्रत्यक्ष रूपमा जोडिनुपर्ने विषयमा पनि प्रकाश पारे। उनका अनुसार, चुरेको वनस्पतिहरूले पानी जमिनमा बिस्तारै छिर्न दिने प्राकृतिक संयन्त्र बनाउँछन्। “तर अहिलेको अनियन्त्रित दोहन, फँडानी र गिट्टी उत्खननले यो प्राकृतिक प्रक्रिया नै नष्ट गर्दैछ,” सिंहले चिन्ता व्यक्त गरे।
स्थानीय तहहरूलाई ‘रेनवाटर हार्वेस्टिङ’ अनिवार्य गर्न निर्देशन
मुख्यमन्त्रीले स्थानीय तहलाई घर नक्सा पास गर्ने बेला ‘रेनवाटर हार्वेस्टिङ सिस्टम’ अनिवार्य गर्न, रिचार्ज पोखरी निर्माण गर्न र सिमसार क्षेत्र संरक्षण गर्न आग्रह गरे। “यी कामहरू योजनाले होइन, अभियानको रूपमा अगाडि बढाउनुपर्छ,” उनको जोड थियो।
सुक्खा घोषणा, बाँझ खेत र घट्दो भूजल — संकट गहिरिँदै
यस वर्ष मधेस प्रदेशलाई सुक्खाग्रस्त घोषणा भइसकेको छ। आधाभन्दा कम क्षेत्रमा मात्र रोपाइँ भएको अवस्था छ। भूजल सतह खस्दै गएको, जमिनको उपजाउपन घट्दै गएको र भविष्यमा मरुभूमिकरणको खतरा बढिरहेको सिंहको भनाइ छ।





