सुडी समाज महासंघद्वारा अन्तरक्रिया : आपसी सम्बन्ध सुदृढीकरणमा जोड

जनकपुरधाम १६ । सामाजिक रुपान्तरण, संस्थागत समन्वय र साझा उद्देश्यमा प्रतिबद्धता अभिवृद्धिका लागि सुडी समाज महासंघ नेपालले दोस्रो वार्षिकोत्सवको अवसरमा जनकपुरधाममा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

जिल्ला कार्य समिति, धनुषाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा महासंघका केन्द्र तथा जिल्ला तहका पदाधिकारी, सल्लाहकार, परिषद सदस्य, आबद्ध संस्थाका प्रतिनिधि, समाजसेवी र अगुवाहरूको उल्लेखनीय सहभागिता रह्यो। कार्यक्रममा जिल्ला अध्यक्ष मनोज कुमार महतोले समन्वय र स्पष्ट कार्यदिशा निर्धारणको आवश्यकता औंल्याउँदै, संगठन र आबद्ध निकायहरूबीच अझ सशक्त सम्बन्धको खाँचो रहेको धारणा व्यक्त गरे।

महासंघका अध्यक्ष परमेश्वर महासेठले संगठनको भावी योजना, प्राथमिकता र नीतिगत दृष्टिकोणबारे सहभागीहरूलाई जानकारी दिँदै, सहभागी जिज्ञासाहरूको समेत सम्बोधन गरे। जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख तथा रामपुर सुडी समाजका अध्यक्ष मनोज कुमार साहले समाजमा जरा गाडेर बसेका अन्धविश्वास, कुरीति र विभेदबारे गम्भीर चर्चा गर्दै, “यी समस्या सामूहिक चेतना र एकताले मात्र अन्त्य गर्न सकिन्छ,” भन्ने धारणा राखे।

महासचिव राम उदार महासेठले संगठनको आन्तरिक संरचना, व्यवस्थापन र संस्थागत सुदृढीकरणका विषयमा प्रस्तुत भएका सुझाव र जिज्ञासाको जवाफ दिँदै आगामी योजनाका आधार स्पष्ट गरे। कार्यक्रमले समाजभित्रको साझा सोच र सहकार्यको संस्कृति बलियो बनाउनेतर्फ अग्रसर हुनुपर्ने सन्देश दिएको सहभागिहरूले बताए। समापनमा, सामाजिक उत्थान र संगठनात्मक विकासमा सबैले आ–आफ्नो तहबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइयो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ