विराटनगर भदौ १२ । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्किने मार्ग आफूले नै खोलेको दावी गरेका छन्।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई राजनीतिमा ल्याएपछि भण्डारीलाई पनि सक्रिय राजनीतिमा फर्कने बाटो खुला भएको बताए। उनले संविधानले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्किन कुनै अवरोध नरहेको पनि स्पष्ट पारे। प्रचण्डले अन्तर्राष्ट्रिय उदाहरणसहित विश्वका विभिन्न देशमा पूर्वराष्ट्रपति, प्रधानमन्त्री र मेयरहरू पुनः राजनीतिमा सक्रिय हुने प्रचलन रहेको बताउँदै, कार्यकाल सकिएपछि पार्टीको निर्णयले उनीहरूलाई फिर्ता लिन कुनै समस्या नहुने दाबी गरे।
उनले भनाए, “विद्या भण्डारीको सदस्यता नवीकरण केपी ओलीकै सहमतिमा भएको र सक्रिय राजनीतिमा फर्किन चाहेको कुरा अब प्रस्ट छ।” चीन भ्रमणपछि विद्यालाई पार्टी अध्यक्ष बनाउने योजना रहेको चर्चा प्रचण्डले स्वीकारे तर त्यसको पछिल्लो अवस्था आफूलाई थाहा नभएको उल्लेख गरे। साथै, उनले विद्यादेवीसँग कुनै ‘प्लान बी’ सम्बन्धी सम्पर्क नभएको र त्यो हल्ला मात्र भएको बताए।
