युक्रेन भदौ १२ । गएराति युक्रेनको राजधानी किभमा भएको भीषण रुसी मिसाइल र ड्रोन आक्रमणमा एक बालबालिकासहित १० जनाको ज्यान गएको युक्रेनी अधिकारीहरूले जनाएका छन्।
युक्रेनको अभियोजन कार्यालयले १० मृतकको पुष्टि गरे पनि प्रारम्भिक रूपमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आठ जनाको मृत्यु भएको बताएका थिए। गृहमन्त्री इहोर क्लाइमेन्कोका अनुसार, मृत्यु हुनेमा दुई बालबालिका रहेका छन्। किभका मेयर भिटाली क्लिट्स्कोले कम्तीमा ३८ जना घाइते भएको जानकारी दिएका छन्।
‘वार्ता होइन, हमला रोज्यो रूस’ – जेलेन्स्की
राष्ट्रपति जेलेन्स्कीले एक्स पूर्व ट्विटर मा लेख्दै, रूसले वार्ताको टेबल होइन, ब्यालिस्टिक मिसाइल रोजेको छ, भन्दै रुसमाथि थप कडा प्रतिबन्धको तयारी गरिने बताएका छन्।
ऊर्जा पूर्वाधारमा पनि असर
यो आक्रमण बुधबार ड्रोन हमला मार्फत युक्रेनको ऊर्जा पूर्वाधारमा गरिएको क्षतिपछि भएको हो। उक्त क्षतिका कारण एक लाखभन्दा बढी घरमा विद्युत् आपूर्ति बन्द भएको थियो। युद्ध जारी रहँदा नागरिक जीवन प्रभावित बन्दै गएको छ, र युक्रेनले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको माग दोहोर्याएको छ।
