गाजामा भोकमरीको त्रास, मृतक संख्या २८१ पुग्यो

गाजा भदौ ९ । इजरायली सेनाले गाजा सिटीमा हवाई र स्थल आक्रमण तीव्र पारेका बेला भोकमरीबाट मृत्यु हुनेहरूको संख्या २८१ पुगेको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, शनिबार मात्र आठ जनाको ज्यान गएको छ, जसमा एक बालबालकासमेत छन्। मार्च २०२५ यता भोकमरीका कारण ११४ बालबालकासहित २८१ जनाले ज्यान गुमाइसकेका छन्।

स्थानीय बासिन्दाहरूले गाजा सिटीमा इजरायली सेनाको आक्रमण थप उग्र बन्दै गएको बताएका छन्। जबालिया क्षेत्रजस्ता उत्तर गाजाका इलाकाहरूमा आक्रमण विस्तार गरिएको जानकारी आएको छ।

इजरायली रक्षा मन्त्री इजरायल काट्जले हालै सार्वजनिक रूपमा गाजा सिटीमा आक्रमणलाई निरन्तरता दिने बताएका छन्। उनका अनुसार हमासलाई परास्त गर्न, बन्धकहरूलाई मुक्त गर्न र इजरायली सुरक्षा शर्तअनुसार युद्ध अन्त्य गर्न इजरायली सेना पूर्ण क्षमतामा परिचालित छ।

उनले गत हप्ता हमासले इजरायली शर्तहरू नमान्ने हो भने गाजा सिटीलाई पूर्णरूपमा ध्वस्त पारिने चेतावनीसमेत दिएका थिए। स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार, अक्टोबर २०२३ यता इजरायली आक्रमणमा परेर गाजामा ६२,००० भन्दा बढी मानिसले ज्यान गुमाएका छन्। सैन्य कारबाही र खाद्य अभावको दोहोरो मार खेपिरहेको गाजा सिटीमा मानवीय संकट गहिरिँदो छ, जसले अन्तर्राष्ट्रिय समुदायको चासो अझ बढाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ