न्युयोर्कमा पर्यटक बस दुर्घटना: यात्रामा जाँदै गर्दा पाँचको ज्यान

अमेरिका भदौ ७ । पश्चिमी न्युयोर्कको स्टेट थ्रुवेमा भएको टुर बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। ५२ जना यात्रु सवार उक्त बस क्यानाडास्थित नियाग्रा फल्सबाट न्युयोर्क सिटी फर्किने क्रममा दुर्घटनामा परेको हो।

न्युयोर्क स्टेट प्रहरीका अनुसार, बस अचानक नियन्त्रण गुमाएर पल्टिएको थियो। ज्यान गुमाउनेमध्ये अधिकांश भारत, चीन र फिलिपिन्सका नागरिक रहेको पुष्टि गरिएको छ। दुर्घटनापछि एम्बुलेन्स र मेडिकल हेलिकप्टरमार्फत उद्धार कार्य गरिएको थियो। दुर्घटना बफेलो सहरबाट करिब ४८ किलोमिटर पूर्व पेम्ब्रोक क्षेत्रमा भएको हो। न्युयोर्ककी गभर्नर क्याथी होचुलले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार तथा उपचारमा स्थानीय अधिकारीहरू सक्रिय रूपमा खटिएको जानकारी दिएकी छिन्।

प्रहरीको प्रारम्भिक जानकारीमा एक बालबालिकाको मृत्यु भएको भनिएको भए पनि पछि त्यो गलत पुष्टि भएको छ। बसमा १ वर्षदेखि ७४ वर्षसम्मका यात्रु सवार थिए। प्रहरीले दुर्घटनाको बेला धेरै यात्रुले सिटबेल्ट नलगाएको कारण केही यात्रु सिटबाट उछिट्टिएको र केही घण्टासम्म बसको भग्नावशेषमा फसेको जानकारी दिएको छ।

दुर्घटनाको थप अनुसन्धान जारी छ भने, घाइतेहरूको उपचार नजिकैको स्वास्थ्य संस्थामा भइरहेको जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ