पाकिस्तान साउन ३१ । पाकिस्तान र पाक प्रशासित कश्मीरमा लगातारको भारी वर्षा र बाढी–पहिरोका कारण मृत्यु हुनेको संख्या तीव्र गतिमा बढ्दै ३०७ पुगेको सरकारी अधिकारीहरूले जनाएका छन्।
सबैभन्दा बढी क्षति उत्तर–पश्चिम पाकिस्तानको पहाडी क्षेत्र खैबर पख्तुनख्वा प्रान्तमा देखिएको छ, जहाँ अधिकांश मृतक फेला परेको बताइएको छ। यस प्रान्तमा कम्तीमा ७४ घर पूर्ण रूपमा ध्वस्त भएका छन्। उद्धार कार्यका क्रममा एउटा उद्धार हेलिकप्टर खसेर पाँच चालक दल सदस्यको मृत्यु भएको समाचार आएको छ। पाक प्रशासित कश्मीरमा नौ जना थप मृत्यु भएको पुष्टि भएको छ भने उत्तरी गिलगित–बाल्टिस्तान क्षेत्रमा पनि पाँच जना मृतक फेला परेको छ। सरकारी मौसमविद्हरूले २१ अगस्टसम्म उत्तर–पश्चिम क्षेत्रमा अझै भारी वर्षा हुने सम्भावना व्यक्त गर्दै प्रभावित जिल्लाहरूलाई ‘जोखिम क्षेत्र’ घोषणा गरेका छन्।
खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमिन गडापुरका अनुसार अफगानिस्तानसँग जोडिएको बाजौर तर्फ उडेको एम–१७ उद्धार हेलिकप्टर खराब मौसमका कारण दुर्घटनामा परेको हो। प्रान्तीय सरकारले एक दिने शोक घोषणा गरेको छ। यसैबीच, भारतीय प्रशासित कश्मीरमा पनि शुक्रबार आएको भीषण बाढीले कम्तीमा ६० जनाको मृत्यु भएको छ। उद्धारकर्ताहरू माटो र भग्नावशेषबाट शव निकाल्न कठिनाइ भोगिरहेका छन्।
दक्षिण एसियामा मनसुन काल प्रत्येक वर्ष करिब तीन चौथाइ वार्षिक वर्षा जुलाईदेखि सेप्टेम्बरसम्म पर्छ। गत जुलाईमा पाकिस्तानको पन्जाब प्रान्तमा अघिल्लो वर्षको तुलनामा ७३ प्रतिशत बढी वर्षा भई ठूलो जनधनको क्षति भएको थियो। वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण यस क्षेत्रका मौसमी विपत्तिहरूको तीव्रता र आवृत्ति दुवै बढ्दै गइरहेको छ।
