काठमाडौँ साउन ३० । कुवेतमा विषाक्त मदिरा सेवनका कारण तीन दिनको अवधिमा कम्तीमा ९ जना नेपालीको ज्यान गएको पुष्टि भएको छ। कुवेतस्थित नेपाली दूतावासका अनुसार केही नेपाली अझै अस्पतालमा उपचाररत छन् भने केहीलाई डिस्चार्ज गरिएको छ।
दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार मृत्यु हुने नेपालीहरूको विवरण संकलन भइरहेको छ। यद्यपि, मेडिकल रिपोर्ट नआएसम्म मृत्युको कारण यकिन गर्न सकिने अवस्था नरहेको उनले बताएका छन्। कुवेतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार मेथानोल मिश्रित विषाक्त मदिराका कारण हालसम्म २३ जनाको ज्यान गइसकेको छ। तीमध्ये ९ जना नेपाली हुन्। १६० भन्दा बढी बिरामी हाल आदान, फर्वनिया र मुबारक अलकबी अस्पतालमा उपचाररत छन्।
विषाक्त रसायन प्रयोग पुष्टि, अधिकांश पीडित निर्माण मजदुर
स्वास्थ्य अधिकारीहरूले मेथानोल मिसिएको अवैध मदिरा सेवन नै मृत्युको प्रमुख कारण भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताएका छन्। मेथानोल अत्यन्तै विषालु रसायन हो, जुन उद्योगमा इन्धन, सोल्भेन्ट वा एन्टिफ्रिजका रूपमा प्रयोग गरिन्छ तर खाद्य प्रयोजनका लागि प्रयोग गरिँदैन। विषाक्त मेथानोल सेवन गर्दा टाउको दुखाइ, बान्ता, दृष्टि धमिलो हुने, कोमामा पुग्ने र अन्ततः मृत्यु समेत हुनसक्ने विज्ञहरूले जनाएका छन्। कतिपय बिरामीको मिर्गौला फेल भइसकेको छ भने केहीमा पूर्ण वा आंशिक दृष्टिदोष देखिएको छ।
कुवेतमा मदिरा प्रतिबन्धित, तर कालोबजारी सक्रिय
कुवेतमा मदिराको सेवन तथा बिक्री कानूनी रूपमा पूर्ण प्रतिबन्धित छ। तर, पछिल्लो घटनाले त्यहाँ अवैध रूपमा मदिरा उत्पादन र विक्री भइरहेको तथ्य उजागर भएको छ। विषाक्त मदिराको स्रोत पहिचान गर्न कुवेती अधिकारीहरूले अनुसन्धान थालेका छन्। यस घटनाले विदेशी भूमिमा काम गर्ने नेपाली श्रमिकहरूको सुरक्षाप्रति गम्भीर प्रश्न खडा गराएको छ।
