नरेन्द्र मोदीको चेतावनी – ब्ल्याकमेल र न्यूक्लियर धम्कीको युग समाप्त

भारत साउन ३० । ७९औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई स्पष्ट सन्देश दिएका छन्— भारत अब ब्ल्याकमेलिङ र आणविक धम्की सहन तयार छैन।

राजधानी दिल्लीको ऐतिहासिक लाल किल्लामा राष्ट्रिय झण्डा फहराउँदै प्रधानमन्त्री मोदीले लगातार १२औं पटक देशवासीलाई सम्बोधन गर्दै यस किसिमको कडा चेतावनी दिएका हुन्। भारतले निर्णय गरिसकेको छ— हामी अब आणविक खतराहरू सहन सक्दैनौं, अब ब्ल्याकमेलिङको युग सकिएको छ, मोदीले भने। उनले थपे, हाम्रा बहादुर सैनिकहरूले शत्रुलाई उनीहरूको कल्पनाभन्दा बाहिरको सजाय दिएका छन्। अपरेशन सिन्दूर त्यही राष्ट्रको आक्रोशको अभिव्यक्ति हो।

अपरेशन सिन्दूर र पानीको विषयमा चासो

प्रधानमन्त्री मोदीले अपरेशन सिन्दूरमा संलग्न सैनिकहरूको साहसको प्रशंसा गर्दै भारत अब रगत र पानी सँगै बग्न नदिने निर्णयमा अडिग रहेको बताए। हाम्रा नदीहरूको पानी शत्रुहरूका खेतमा सिँचाइ भइरहेको छ, अब भारतले आफ्नो भागको पानी सुनिश्चित गर्नेछ, उनले प्रष्ट पारे।

स्वदेशी उत्पादनमा जोड

आत्मनिर्भर भारत अभियानलाई सम्बोधन गर्दै मोदीले रक्षा क्षेत्रमा स्वदेशी उत्पादनको आवश्यकता औंल्याए। हामी आफ्नै मेड इन इन्डिया लडाकु विमान बनाइरहेका छौं, अब हामीलाई आफ्नै जेट इन्जिन पनि चाहिन्छ, उनले भने। जबसम्म अरूमाथि निर्भर रहन्छौं, स्वतन्त्रता अधुरो हुन्छ। प्रधानमन्त्रीको सम्बोधन भारतको राष्ट्रिय सुरक्षामा दृढता, आत्मनिर्भरता र पानीसम्बन्धी क्षेत्रीय विवादमा भारतको कडा दृष्टिकोण झल्किने गरी केन्द्रित देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ